काठमाण्डौ । बजारमा देखिएको अधिक तरलता कम गर्न नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट आज बिहीबार बोलकबोलमार्फत निक्षेप संकलनका रुपमा ३० अर्ब रुपैयाँ उठाउन लागेको हो। यसअघि लागि आज अपराह्न २ बजेसम्म अनलाइन बिडिङ प्रणालीबाट बोलकबोल हुनेछ। 

बोलकबोल गर्दा घटीमा ५ करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि गर्न पाइनेछ। 

राष्ट्र बैंकले कुल २८ दिनका लागि संकलन गर्न लागेको यो रकमको ब्याजदर बोलकबोलमार्फत नै हुनेछ। बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ। यसको सावा र ब्याज भुक्तानी आउँदो माघ १ गते हुनेछ।

यसअघि पनि राष्ट्र बैंकले पटकपटक गरी १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलनका रुपमा बैंक तथा वित्तीय संस्थाहरुबाट उठाइसकेको छ।