काठमाण्डौ । उद्योगी व्यवसायीहरुको एक प्रतिनिधि मण्डलले तरलता संकटको समस्या तत्काल समाधान नगरे अर्थतन्त्रमै संकुचन आउनसक्ने भन्दै उपयुक्त कदम चाल्न अर्थमन्त्रीलाई आग्रह गरेको छ । 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बिहीबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेट्न पुुगेको टोलीले त्यस्तो आग्रह गरेको हो । 

टोलीले अर्थमन्त्रीसँग अर्थव्यवस्थामा देखा परेको तरलता अभावको समस्या र त्यसले पार्ने प्रभावहरुको बिषयमा छलफल गरेको थियो । 

परिसंघले २०७३ असोजदेखि प्रारम्भ भएको तरलता अभावले हाल बंैकिङ क्षेत्रबाट नयाँ कर्जा प्रवाह हुन नसकेको, पुराना कर्जाको ब्याजदर बढ्दै गएको, रकमको अभावले सञ्चालन भईरहेका परियोजनाको निर्माण कार्य समेत रोकिन गएको, बढ्दो ब्याजदरले नेपालको औद्योगिक क्षेत्रको लागत बढेकोले यसको असर उपभोक्तामा पर्न जाने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । यो समस्यालाई यथाशीघ्र सम्बोधन गर्न सरकारबाट सुधारात्मक कदम चाल्नु पर्नेमा परिसंघका अधिकारीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

कर्जाको बढ्दो ब्याजदरले नेपाली उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, आयात बढ्ने, लगानीमा गिरावट आउने, निर्यातमा असर पर्ने र रोजगारीका अवसरहरु घटेर अर्थतन्त्र संकुचन हुन सक्ने विश्लेषण गर्दै प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी तरलता प्रवाह गर्ने विविध उपायहरु पनि सरकारसमक्ष पेश गर्यो । परिसंघले जारी गरेको प्रेस नोटमा भनिएको छ । 

नीतिगत सुुझावसहितको ज्ञापनपत्र बुुझेपछि उप–प्रधान तथा अर्थ मन्त्री महराले नेपाल उद्योग परिसंघबाट प्राप्त सुझावहरु विभिन्न आयामबाट विश्लेषण गरी उपयुक्त नीतिगत व्यवस्था गर्न मन्त्रालय सकारात्मक रहेको बताएका थिए ।