काठमाण्डौ । वित्तीय बजारमा तरलता व्यवस्थापन गर्न तथा ब्याजदर कोरिडोरलाई व्यवस्थित गर्न ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८’ लागू गरिएको छ।

मौद्रिक नीतिको कार्यदिशा हासिल गर्न नेपाल राष्ट्र बैंकको पहलमा खुला बजार कारोबार सञ्चालन गरिएको हो। 

राष्ट्रद्वारा गठित खुला बजार कारोबार सञ्चालन समितिले मौद्रिक नीतिका उद्देश्यहरु हासिल गर्न अल्पकालीन एवं संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि बैंकको आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचनासम्वन्धी प्रतिवेदन, निक्षेप एवं कर्जाको विस्तार, अन्तरबैंक ब्याजदर, विदेशी विनिमयको प्रवाह, सरकारी आम्दानी खर्चको अवस्थालगायत अन्य वित्तीय सूचकका आधारमा खुला बजार कारोबार सञ्चालन गर्न सक्नेछ। 

समितिले नियमित खुला बजार कारोबार र संरचनात्मक खुला बजार कारोबार दुई किसिमले सञ्चालन गर्नेछ। 

खुला बजार कारोबारमा प्रयोग गरिने सुरक्षणपत्र तोकेबमोजिम हुनेछ। खुला बजार कारोबारमा सहभागी इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) को राष्ट्र बैंकमा खाता हुनुपर्नेछ। 

खुला बजार कारोबारका किसिम, प्रयोग गरिने उपकरण, आवश्यक सर्त तथा अन्य प्रक्रिया समितिले निर्णय गरेबमोजिम हुनेछ। 

नियमित खुला बजार कारोबारअन्तर्गत वित्तीय बजारमा देखिने साधारण प्रकृतिको न्यून/अधिक तरलतालाई व्यवस्थापन गर्न समितिले प्रत्येक बुधबार १४ दिनसम्मका लागि रिपो/रिभर्स रिपो कोबलकबोल र निक्षेप संकलन उपकरणमा आधारित नियमित खुला बजार कारोबार गर्न सक्नेछ। 

नियमित खुलाबजार कारोबारमा तत्कालीन आवश्यकता र परिस्थितिका आधारमा समितिले निर्णय गरेबमोजिमका उपकरण प्रयोग गरिने विनियमावलीमा उल्लेख छ। 

वित्तीय प्रणालीमा साधारण प्रकृतिको न्यून/अधिक तरलता विद्यमान भएको बारेमा समिति निश्चित भएमा बढीमा चौध दिन अवधिको अल्पकालीन रिपो/रिभर्स रिपो बोलकबोल कारोबार मार्पmत तरलता प्रवाह/प्रशोचन गर्न सक्नेछ। यस्तो कारोबार गर्दा बैंकले भविष्यमा निश्चित मितिमा निश्चित रकम बरावरको सुरक्षणपत्र खरिद/बिक्री गर्ने प्रतिबद्धतासहित काउन्टरपार्टीसँग सम्झौता गर्नेछ। 

उपविनियम (१) बमोजिमको सम्झौता अनुसूची–१ मा उल्लिखित मास्टर रिपर्चेज एग्रीमेन्टबमोजिम हुनेछ। बैंकसँग मास्टर रिपर्चेज एग्रीमेन्ट नगरेका काउन्टरपार्टी रिपो/रिभर्स रिपो बोलकबोल कारोबारमा सहभागी हुन योग्य मानिने छैनन्। 

रिपो÷रिभर्स रिपो बोलकबोल कारोबारसम्बन्धी अन्य व्यवस्था अनुसूची १ को माष्टर रिपर्चेज एग्रीमेण्ट एवं प्रचलित कार्यविधिमा तोकिएबमोजिम हुनेछ। निक्षेप संकलन उपकरणः (१) वित्तीय प्रणालीमा साधारण प्रकृतिको अधिक तरलता भएको समितिलाई लागेमा अल्पकालीन निक्षेप संकलन बोलकबोल कारोबारमार्फत तरलता प्रशोचन गर्न सक्नेछ। यस्तो बोलकबोलमा मौद्रिक नीतिमा व्यवस्था भएबमोजिमका काउन्टरपार्टीहरुले मात्र सहभागी हुन पाउनेछन्। 

नियमित खुला बजार कारोबारअन्तर्गत ब्याजदरमा बोलकबोल गरिने साधारण प्रकृतिको निक्षेप संकलन कारोबार र ब्याजदर कोरिडोरको तल्लो सीमाको रूपमा निष्कासित रकममा बोलकबोल गरिने ब्याजदर कोरिडोरअन्तर्गतको निक्षेप संकलन कारोबार गरी दुई किसिमको निक्षेप संकलन कारोबार हुनेछ। यस कारोबारमा कुनै पनि सुरक्षणपत्रको प्रयोग गरिने छैन र आवश्यकताको आधारमा समितिको निर्णयबमोजिम कुनै पनि किसिमको निक्षेप संकलन उपकरणको प्रयोग गर्न सकिने छ।

निक्षेप संकलन बोलकबोल कारोबारसम्बन्धी अन्य व्यवस्था प्रचलित कार्यविधिमा तोकिएबमोजिम हुने विनियामवलीमा उल्लेख छ। 

ब्याजदर करिडोरअन्तर्गत अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्वका लागि मौद्रिक नीतिले तय गरेको ब्याजदर कोरिडोर कायम गर्न माथि उल्लेखित खुला बजारको अतिरिक्त देहायबमोजिमका उपकरणहरु प्रयोगमा रहनेछन्- 

(क) स्थायी तरलता सुविधा, 

(ख) ओभरनाईट रिपोर 

(ग) तोकिएको ब्याजदरको निक्षेप संकलन। 

प्रचलित मौद्रिक नीतिअनुसार ब्याजदर कोरिडोरको माथिल्लो सीमाका रूपमा स्थायी तरलता सुविधाको ब्याजदर, तल्लो सीमाका रूपमा तोकिएको ब्याजदरमा गरिने निक्षेप संकलन उपकरण तथा नीतिगत दरको रूपमा ओभरनाइट रिपो दरलाई लिइएको छ।

उपविनियम (१) को बुँदा नं. (क) र (ख) बमोजिमका उपकरणहरुका कारोबार तोकिएका बैंक तथा वित्तीय संस्थाहरुको मागको आधारमा तथा बुँदा नं. (ग) बमोजिमको उपकरणको कारोबार बैंकको अग्रसरतामा सञ्चालन गरिनेछ। 

ब्याजदर कोरिडोरका उपकरण प्रयोग गर्ने तोकिएका संस्थाको बैंकमा खाता हुनु पर्नेछ। 

स्थायी तरलता सुविधाअन्तर्गत अल्पकालीन सम्झौतीत दायित्व भुक्तानीलगायत बैंकिङ प्रणालीमा तत्काल आईपर्ने तरलता समस्यालाई समाधान गर्नका लागि सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गरेका तोकिएबमोजिमका काउन्टरपार्टीले तोकिएका सुरक्षणपत्रको धितोमा प्रचलित कार्यविधिबमोजिम विभागबाट देहायबमोजिम सुविधा लिन सक्नेछन्– (१) काउन्टरपार्टीहरुले तोकिएको सुरक्षणपत्रको धितोमा बैंकद्वारा निर्धारित अवधिसम्मका लागि निर्धारित ब्याजदरमा बैंकबाट स्थायी तरलता सुविधा उपयोग गर्न सक्नेछन्। यो सुविधा उपयोग गर्नका लागि तोकिए बमोजिमको निवेदन तथा धितो राखिने सुरक्षणपत्रहरुको विवरण र सोको सक्कलै प्रति (ब्याज पुर्जा भएका सुरक्षणपत्रको हकमा सो समेत) ढिलोमा कार्यालय समय सकिनुभन्दा एक घण्टा अगाडि विभागमा पेश गरिसक्नु पर्नेछ। 

स्थायी तरलता सुविधा बैंक तथा वित्तीय संस्थाको मागको आधारमा प्रदान गरिनेछ र यो सुविधासम्बन्धी निर्णय विभागीय प्रमुखबाट हुनेछ। 

माथि जुनसुकै कुरा लेखिए तापनि यो कार्यविधि लागू भएको ९० दिनसम्म सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता नगरेका तोकेबमोजिमका काउन्टरपार्टीलाई समेत स्थायी तरलता सुविधा उपयोग गर्न बन्देज गरिने छैन। 

स्थायी तरलता सुविधासम्बन्धी अन्य सर्त तथा व्यवस्था सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता तथा प्रचलित कार्यविधि बमोजिम हुनेछ। ओभरनाइट रिपोअन्तर्गत ब्याजदर कोरिडोरअन्तर्गत तरलता प्रवाह गर्नका लागि प्रयोग गरिने ओभरनाईट रिपो उपकरण यस बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गरेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विनियम २६ बमोजिमको ग्राह्य सुरक्षणपत्रको धितोमा प्रचलित कार्यविधिले तोकेको शर्त तथा ब्याजदरमा उपयोग गर्न सक्नेछन्। 

ओभरनाईट रिपोसम्बन्धी सुविधा बैंक तथा वित्तीय संस्थाको मागको आधारमा प्रदान गरिनेछ र यो सुविधासम्बन्धी निर्णय विभागीय प्रमुखबाट हुनेछ। 

ओभरनाईट रिपोसम्बन्धी अन्य शर्त र व्यवस्थाहरु प्रचलित कार्यविधिबमोजिम हुनेछ। 

तोकिएको ब्याजदरको निक्षेप संकलन

१. वित्तीय प्रणालीमा विद्यमान अधिक तरलताका कारण बजार ब्याजदरको प्रवृत्ति प्रचलित ब्याजदर कोरिडोरको तल्लो सीमा पार गर्ने बारेमा समिति निश्चित भएमा एक हप्ता अवधि सम्मको तोकिएको ब्याजदरको निक्षेप संकलन उपकरण कारोबारमार्फत तरलता प्रशोचन गर्न सक्नेछ। 

२. यो कारोबार तोकिएको ब्याजदरमा कूल निष्काशित रकमको सीमाभित्र रकम बोलकबोलमार्फत गरिने छ। 

३. तोकिएको ब्याजदरको निक्षेप संकलन उपकरणको कारोबारसम्बन्धी अन्य सर्त र व्यवस्थाहरु प्रचलित कार्यविधिबमोजिम हुनेछ।

सुरक्षणसम्बन्धी व्यवस्था

खुला बजार कारोबारका लागि सुरक्षणपत्र

खुला बजार कारोबारका सन्दर्भमा गरिने रिपो/रिभर्स रिपो एवं सोझै खरिद/बिक्री कारोबार तथा स्थायी तरलता सुविधा कारोबारका लागि देहायबमोजिमका सुरक्षणपत्रको प्रयोग गरिनेछ। 

(क) सरकारी सुरक्षणपत्रहरु (ट्रेजरी बिल्स र विकास ऋणपत्रहरु), 

(ख) नेपाल राष्ट्रबैंक ऋणपत्र र 

(ग) बैंकद्वारा निर्धारित अन्य सुरक्षणपत्र। 

सुरक्षणपत्रको मूल्यांकन

खुला बजार कारोबार गर्दा सुरक्षणपत्रको तरलता, निष्काशन गर्ने निकायको साख, अंकित ब्याजदर र सोको बाँकी भुक्तानी अवधिका आधारमा सुरक्षणपत्र मूल्यांकन गरिनेछ।