काठमाण्डौ । तलब वृद्धिलगायत १५ बुँदे मागपत्र राख्दै नेपाल ट्रेकिङ ट्राभल्स, र्‍याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा ज्ञापनपत्र बुझाएको छ। 

पर्यटन क्षेत्रमा विगत लामो समयदेखि कार्यरत श्रमिकहरुको पारिश्रमिक तथा सेवासुविधा वृद्धि नभएको हुँदा नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रास्फीति दर तथा खाद्यवस्तुमा भएको मूल्यवृद्धिको आधारमा पारिश्रमिक र सुविधा वृद्धि हुनुपर्ने युनिट्राभको माग छ। जलवायु परिवर्तनका कारण कार्यक्षेत्रमा दिनानुदिन उच्च रुपमा जोखिम वृद्धि हुँदै गएका कारण पर्वतारोही र पदमार्गमा कार्यरत श्रमिकहरुको दुर्घटना बीमा तथा स्वास्थ्य बीमा रकममा सतप्रतिशतले वृद्धि गर्नुपर्ने संगठनको माग छ। 

यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पालिकामा पञ्जीकरण गरिनुपर्ने, नयाँ श्रमिक भर्ना गर्दा पञ्जीकरण भई परिचयपत्र प्राप्त श्रमिकहरुलाई मात्र रोजगारी दिने व्यवस्था कायम गर्न माग गरिएको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए। 

श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू भएपश्चात सम्पूर्ण श्रमिकलाई रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सूचीकृत गरी योगदान नियमित गर्नुपर्नेमा यस क्षेत्रमा कार्यरत श्रमिकहरुको सन्दर्भमा सामाजिक सुरक्षा प्रत्याभूत नगरिएको भन्दै अविलम्ब र अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिहरुलाई सूचीकरण गरी योगदान रकम नियमितरुपमा दाखिला गर्न युनिट्राभले माग गरेको छ। संगठनले पदमार्ग तथा पर्वतारोहणमा कार्यरत श्रमिकहरुलाई पर्यटन विभागबाट प्रदान गरिने इजाजतपत्र जारी तथा नविकरण गर्न सहज वातावरण बनाउन भनेको छ। 

पदमार्ग तथा पर्वतारोहणमा कार्यरत श्रमिकहरुको इजाजतपत्र नवीकरण गर्दा गण्डकी प्रदेश सरकारले मनोमानी ढंगले कर असुल गरिरहेको र करको खारेजी वा सो कर श्रमिक कार्यरत रहेका सम्बन्धित रोजगारदाता तथा प्रतिष्ठानले व्यहोर्नुपर्ने संगठनको माग छ। 

श्रम ऐन, २०७४ तथा श्रम नियमावली २०७५ मा अनिवार्य श्रम अडिटको व्यवस्था गरिएको तर उक्त व्यवस्थाअनुसार यस क्षेत्रका व्यवसायीहरुले श्रम अडिट नगरेकाले श्रम ऐन, नियममा भएको व्यवस्थाबमोजिम अनिवार्य श्रम अडिट गरिनुपर्ने श्रमिकहरुको माग छ। पर्वतारोहणमा जाने पर्वतारोहीलाई दिँदै आएको विभिन्न सेवासुविधामा ३० प्रशितले बृद्धि गर्नुपर्ने माग राखेका श्रमिकले व्यक्तिगत रुपमा टिम्स लिएर जाने कार्यको अन्त्य गरी अनिवार्य श्रमिक पठाउने व्यवस्था गर्न भनेको छ।

जलवायु परिवर्तन र मानवीय ब्यवहारका कारण हिमालहरुमा दिनानुदिन प्रदूषण बढ्दै गएको भन्दै संगठनले हिमाल तथा पदमार्गमा हुने फोहोर व्यवस्थापन गर्न एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न भनेको छ। पर्यटन श्रमिकका मागका सन्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाइ सरकारको पनि ध्यानाकर्षण गराउने युनिट्राभको तयारी छ।