काठमाण्डौ । माथिल्लो तामाकोशी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोशी–५ निर्माण प्रक्रिया अगाडि बढेको छ। 

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) जर्मन कम्पनी ट्र्याक्वेल इन्जिनियरिङले तयार पारिसकेको छ। आयोजना ९९.५ मेगावाटको हुनेछ। आयोजना विद्युतगृह दोलखाको सुरी दोभानमा हुनेछ। वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको आयोजनाले जनाएको छ। 

नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशीको विद्युतगृहबाट निस्किएको पानी ८ किलोमिटर लामो सुरुङबाट अर्को विद्युतगृहमा पुर्याउने र त्यहाँबाट पनि विद्युत् उत्पादन गर्ने उद्देश्यका यो आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो। जसअनुसार माथिल्लो तामाकोशीको टेलरेसबाट निस्केको पानीलाई ५.४ मिटर ब्यासको ८ किलोमिटर सुरुङबाट तामाकोशी–५ को भूमिगत विद्युतगृहमा पुर्याइनेछ।

डीपीआरअनुसार यो आयोजनाका लागि छुट्टै बाँध बनाउनुपर्दैन। 

तामाकोशी–५ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखिएको छ। यो आयोजनाको निर्माणकार्य आगामी आर्थिक वर्षभित्र सुरु गरिने प्राधिकरणले योजना बनाएको छ। 

तामाकोशी–५ का लागि ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गर्ने गरी प्रस्ताव प्राधिकरणले तयार गरिएको छ। ऋणका लागि स्वदेशी लगानीकर्ता कर्मचारी सञ्चय कोष र विदेशी लगानीकर्ता एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले लगानी गर्न चासो देखाइरहेको बताइएको छ। 

हेड वक्र्सको काम नहुने भएकाले यो आयोजनामा लगानी कम हुने अनुमान गरिएको छ। यो आयोजनाको कुल लागत करिब १६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ।