काठमाण्डौ । हिजोदेखि नै भारी वर्षा भइरहेका कारण तारा एयरको विमान हराइरहेको भनिएको क्षेत्रमा हेलिकोप्टर पुग्न सकेका छैनन् । 

काठमाण्डौ र पोखराबाट सम्भावित दुर्घटनास्थलतर्फ हेलिकोप्टर उडे पनि बाक्लो कुहिरो लागेको र वर्षा समेत भइरहेका कारण खोजी कार्य प्रभावित भएको हो । 

हेलिकोप्टर मुस्ताङको लेते क्षेत्रमा पुग्न नसकिरहेको बेला स्थानीय प्रहरीको दुईवटा टोली स्थल क्षेत्रबाट खोजी कार्यका लागि परिचालित भएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार प्रहरी नायव उपरीक्षक रामकुमार दानी नेतृत्वको टोली जिल्ला सदरमुकामबाट र इलाका प्रहरी कार्यालय लेतेबाट समेत प्रहरी सहायक निरीक्षक कुमार केसीको अर्को टोली घटनास्थलतर्फ परिचालन भइसकेको छ । 

'सम्भावित घटनास्थल भनिएको क्षेत्रमा जान गाडीमा कम्तीमा अढाई घण्टा र पैदल एकघण्टा जति लाग्छ ।' प्रवक्ता तामाङले भने-'मौसम प्रतिकूल भएका कारण चाँडै पुग्ने सम्भावना पनि कम देखिन्छ ।' 

स्थानीयले लेते आसपासको पहाडी क्षेत्रमा ठूलो आवाज आएको प्रहरीलाई बताएका छन् । स्थानीयको सोही सूचनाका आधारमा हवाई र स्थलमार्गबाट हराइरहेको विमानको खोजी कार्यलाई तीव्र पारिएको छ ।