काठमाण्डौ । लेते र टीटी ताल आसपासको क्षेत्रमा हराइरहेको भनिएको तारा एयरको विमान चालकको मोवाइलमा घण्टी गएपछि सोही क्षेत्रलाई केन्द्रमा राखी खोजीकार्यलाई तीव्र पारिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक क्याप्टेन प्रभाकर घिमिरेको मोवाइल फोनमा घण्टी गइरहेको छ । नम्बर ट्रयाक गर्दा लेते क्षेत्र देखाएको र त्यसलाई आधार मानेर खोजी कार्यलाई तीव्र पारिएको छ । 

लेते क्षेत्रमा अहिले लेते प्रहरी कार्यालयबाट एक प्रहरी टोली स्थलमार्गबाट, काठमाण्डौबाट सेनाको टोली हवाईमार्गबाट र स्थानीयवासीको टोली समेत परिचालन भइसकेको छ । 

लेते आसपासका स्थानीयले प्राधिकरणलाई आफूहरुले विमान दुर्घटना भएको देखेको दाबी गरेका छन् । यसले समेत बिहान १० बजे आसपासदेखि हराइरहेको तारा एयरको विमान र त्यहाँ सवार २२ जनाको अवस्था पत्ता लाग्ने आशा बढेर गएको छ ।