काठमाण्डौ । मुस्ताङको मानापाथी हिमाल नजिकैको थासाङ २ सानो स्वारेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा सवार सबैको मृत्यु भएको छ । 

सो विमानमा चालक दलका ३ सदस्य समेत रहेका थिए । उनीहरुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए । 

दुर्घटनामा परेका क्याप्टेन घिमिरे विगत २५ वर्षदेखि विमान चलाउँदै आएका थिए । उनी यति एयरलाइन्समा अनुभवी पाइलटको रुपमा चिनिन्थे । 

कोपाइलट उत्सव पोखरेल भने हालसालै फिलिपिन्सबाट पाइलट कोर्स सकेर नेपाल आएका थिए । उनले यति एयरलाइन्समा काम सुरु गरेको धेरै भएको थिएन । उनी रुकुम पश्चिम चौरजहारीका स्थायीबासी हुन् । 

एयरहोस्टेज क्रिस्मी थापाले पनि केही वर्षदेखि एयरहोस्टेजको रुपमा काम गरिरहेकी थिइन् । 

चालक दलका सदस्यसहित तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । अहिले शव संकलनको कार्य भइरहेको छ । सबै शवहरु पोखरा लैजाने तयारी भइरहेको छ ।