काठमाण्डौ । स्वास्थ्य जटिल बनेपछि पाटन अस्पताल पुर्याइएका तिलक कोइरालालाई पुनः अनशनस्थल (नेपाल धितोपत्र बोर्ड) फर्किन नदिइएको लगानीकर्ताहरुले आरोप लगाएका छन्। 

पुँजीबजार सुधार र विकास १९ बुँदे माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशन थालेका थिए। आमरण अनशनको सातौँ दिन आज स्वास्थ्य अवस्था गम्भीर बनेपछि कोइरालालाई चिकित्सककै आग्रहमा पाटन अस्पताल पुर्याइएको थियो। त्यहाँ उनलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ। 

कोइरालाले हाल आफू ठिक रहेको र अनशनस्थल फर्किन खोजिरहेका छन्। ‘अस्पतालले पनि डिस्चार्ज गरिसकेको छ। तर, राज्यले तिलकजीलाई अस्पतालमै बन्धन बनाएर राख्न खोजेको छ’, अस्पतालमा सँगै रहेका स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले भने। 

कार्कीका अनुसार अस्पतालबाहिर जान नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘राज्यकै निर्देशनमा सुरक्षाकर्मीले तिलकजीलाई बाहिर निस्किन दिइरहेका छैनन्’, उनले भने।