– रेखा चन्द

काठमाण्डौ । स्वास्थ्य जटिल बनेपछि पाटन अस्पताल पुर्याइएका तिलक कोइराला पुनः अनशनस्थल (नेपाल धितोपत्र बोर्ड) फर्किएका छन्। 

पुँजीबजार सुधार र विकास १९ बुँदे माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशन थालेका थिए। आमरण अनशनको सातौँ दिन आज स्वास्थ्य अवस्था गम्भीर बनेपछि कोइरालालाई चिकित्सककै आग्रहमा पाटन अस्पताल पुर्याइएको थियो। त्यहाँ उनलाई आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो। 

कोइरालालाई डेढ–दुई घन्टाअगाडि नै अस्पतालले डिस्चार्ज गरे पनि सुरक्षाकर्मीले बाहिर निस्किन दिएका थिएनन्। ‘राज्यले तिलकजीलाई अस्पतालमै बन्धन बनाएर राख्न खोजेको थियो, पछि फेरि माथि आदेश आएपछि सुरक्षाकर्मीले हामीले निस्किन दिए’, कोइरालासँगै रहेका स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले भने। 

यसैबीच लगानीकर्ताका माग र पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी दिन धितोपत्र बोर्डले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। 

धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमाल आजै अर्थ मन्त्रालय पुगेर लगानीकर्ताका माग र पुँजीबजारको पछिल्लो अवस्थाबारे छलफल गरेका थिए। अर्थ मन्त्रालयमा भएको छलफलका बारेमा जानकारी दिन अध्यक्ष हमालले पत्रकार सम्मेलन आयोजना गर्न लागेको सेबोन स्रोत बताउँछ। 

पत्रकार सम्मेलनमार्फत अध्यक्ष हमालले लगानीकर्ताका लागि केही सकारात्मक खबर दिन सक्ने बताइएको छ।