काठमाण्डौ । सेयर बजारका लगानीकर्तामाझमा तिलक कोइराला चिरपरिचित नाम हो। नेपाल पुँजीबजार विकास अभियानका संयोजकसमेत रहेका कोइरालाले प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। 

प्रतिनिधिसभा चुनावमा जितेमा आफूले सेयर बजारका मुद्दा सदनमा उठाउनुका साथै पुँजीबजारमैत्री नीति ल्याउन अहम् भूमिका निर्वाह गर्ने कोइरालाले प्रतिबद्धता व्यक्त गरेका छन्। कोइराला बजार विकास र विस्तारका लागि ५८ बुँदे माग अघि सार्दै विभिन्न अभियान, आन्दोलन साथै आमरण अनसन पनि बसिसकेका छन्।

पुँजीबजारमैत्री नीति नल्याएको भन्दै केही महिनाअघि कोइराला सक्रिय भएर पुँजीबजारविरोधीलाई ‘नो भोट’ अभियानमा पनि होमिएका थिए। तिनै कोइरालाले आउने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर १ बाट ५१ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै लगानीकर्ताको आवाज सदनमा बुलन्द पार्ने भन्दै उम्मेदवारी घोषणा गरेका हुन्। ‘पुँजीबजारका विकास र विस्तारका साथै संघीयता खारेज र चितवन राजधानी मेरो मुख्य अजेन्डा रहनेछ’, बिजशालासँगको कुराकानीमा कोइरालाले भने, ‘प्रदेशले नेपालको विकासमा केही योगदान नगर्ने भएकाले प्रदेश आवश्यक छैन। त्यस्तै समानुपातिक उम्मेदवारले जनताको आवाज बोक्दैनन्। त्यसका साथै समानुपातिकले गर्दा विकृति पनि बढेकाले समानुपातिक उम्मेदवारको आवश्यकता म देख्दिनँ।’

‘मेरो अर्को मुख्य एजेन्डा चितवनलाई हिउँदे राजधानी बनाउनेछ’, कोइराला भन्छन्, ‘चितवनमा नारायणी नदीका साथै पर्याप्त वन जंगल भएकाले चितवन राजधानीको लागि उपयुक्त ठाउँ हो। चितवनलाई हिउँदे राजधानी घोषणा भएसँगै पूर्व–पस्चिम विद्युतीय रेल, एयरपोर्टको विकास, पूर्वाधार विकासका कार्य पनि गर्न सकिन्छ।’

चितवनवासीका साथै समग्र सेयर लगानीकर्ताको आवाज बोकेर आउने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गरेको कोइराला बताउँछन्। ‘म आमलगानीकर्ताका साथै चितवनवासीको आवाज संसदमा बुलन्द गराउँछु’, उनले भने।

‘हामी नेपाली सेयर बजारमा ५१ लाख लगानीकर्ता छन् भन्छौँ। तर, ५१ लाख लगानीकर्ताका तर्फबाट पुँजीबजार बुझेको र उक्त विषयमा बहस गर्ने जनप्रतिनिधि अहिलेसम्म कोही छैन’, कोइरालाले भने, ‘त्यसैले अब लगानीकर्ताको प्रतिनिधित्व गर्दै संसदमा आफ्नो आवाज राख्ने बेला आएको छ।’

‘कुनै राजनीतिक दलबाट नभएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु। प्रतिनिधिसभा निर्वाचनमा अनुकूलता भएसम्म लौरो चुनाव चिह्नमा उम्मेदवारी दिने सोचेको छ’, कोइराला भन्छन्, ‘चुनावमा आम सेयर लगानीकर्ताका साथै चितवनवासीले सरसहयोग गर्ने अपेक्षा राखेको छु।’