काठमाण्डौ । नेपालको सेयर बजारमा अनसन बसिरहने लगानीकर्ताको छवि बनाएका तिलक कोइरालाले पुनः बजार सुधारका विभिन्न अजेण्डा प्रस्तुत गर्दै अनसन थाल्ने घोषणा गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत आफू बजार सुधारका लागि अनसन बस्ने घोषणा गरेका हुन् । 

उनले आगामी असार १ गतेदेखि बजार सुधार र विस्तारका लागि भन्दै खुमलटारस्थित बजारको नियामक धितोपत्र बोर्डमा तेश्रो आमरण बस्ने घोषणा गरेका हुन् । 

यो घोषणा उनको एकल हो । उनले आफ्नो अभियानमा साथ दिन लगानीकर्तालाई आह्वान पनि गरेका छन् । 

‘हामीले सेयर बजार सुधार र बिस्तारका लागि लामो समयदेखि पहल गर्दै आएको कुरा बिदितै छ । पटक–पटकको हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पूँजी बजारको संबेदनशिलता र लाखौं लगानीकर्ताहरुको लगानीलाई वेवास्ता गरेकाले फेरि एकपटक कडा रुपमा उत्रिनु परेको छ ।’ उनले भनेका छन्–‘पूरा हुनैपर्ने निम्न मागहरु राखेर लगानीकर्ता म तिलक कोइराला तेस्रो चरणको आमरण अनशनमा बस्दैछु । अनशनमा सक्रिय सहभागिता जनाउँन र माग पुरा नभएसम्म एकताबबद्ध भई डटिरहन सबै सेयर लगानीकर्ता साथीहरुमा हार्दिक आग्रह गर्दछु ।’

उनले प्रस्तुत गरेका मागहरु यस्ता छन्:
१. विगतको एमाले सरकारले साढे तीन वर्षअघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिनाअघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पूरा हुनैपर्ने
२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्तापूँजी कायम गरी तत्काल ब्रोकर लाईसेन्स वितरण गर्नुपर्ने
३.कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्तापूँजी बृद्धि गर्न लगाई दुई वर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने 
४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस संचालनका लागि तत्काल स्वीकृति दिनुपर्ने ।
५. गैरआवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । 
६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । 
७. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । 
८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । 
९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशनदर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । 
१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । 
११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतः इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वतः रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । 
१२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । 
१३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । 
१४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  
१५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिङ ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । 
१६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागू गर्ने । 
१७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । 
१८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवाब्याज असुलीको समय दिनुपर्ने । 
१९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तीमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।