काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता एवं पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज (असार १ गते) बाट आमरण अनशन सुरु गर्दैछन्। 

कोइराला बिहान ११ बजेबाट नेपाल धितोपत्र बोर्ड (खुमलटार) अगाडि आमरण अनशन बस्नेछन्। यो कोइरालाको तेस्रो आमरण अनशन हो।

कोइरालाले यो आमरण अनशन नेपालका सबै लगानीकर्ताका संघसंस्था र सरोकारवालाहरुको साझा आन्दोलन रहेको बताएका छन्। ‘सबै लगानीकर्ता संघसंस्थाहरुले स्वामित्वबोध गरी मलाई आमरण अनशनमार्फत माग पूरा गर्ने कार्यमा हरतरहले साथ र सहयोग गर्ने दृढ अठोट गर्नुभएको छ। उहाँहरुको यही निर्णयका आधारमा म ५२ लाख आमलगानीकर्ताका तर्फबाट आमरण अनशन बसेर पुँजीबजार सुधार र विस्तारका लागि फेरि–फेरि पनि आन्दोलन गर्नुपर्ने र अनशन बस्नु नपर्ने गरी अन्तिम लडाइँ लड्दैछु’, कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो लडाइँ सेयरको मूल्य घट्यो वा बढ्यो भनेर घटाइबढाइ पाउन सुरु गरिएको कुनै हालतमा पनि हैन र सेयरको मूल्य घटबढसँग जोड्नु कुनै अर्थमा पनि स्वीकार्य र न्यायोचित हुने छैन।’ 

‘पुँजीबजारको विकासका लागि गर्नैपर्ने न्यूनतम कामहरु जो सरकारले साढे ३ वर्षअघि नै गरिसक्छु भनेको थियो, त्यही गराउनु नै यो अनशनको मुख्य उद्देश्य हो’, कोइरालाले लेखेका छन्, ‘हामीले अघि सारेका मागहरु हाम्रा माग नभई सरकारी निकायहरुले गर्छु भनी समय र जिम्मेवार निकायहरुसमेत तोकिएका कामहरु हुन्। १९ बुँदे मागहरुमध्ये १५ वटा बुँदाहरु एकैदिनमा गर्न सकिने खालका छन् ।’ 

यो आन्दोलन लगानीकर्तामात्रै नभई सरकार, धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर, ब्रोकरलगायत पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले  सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताएका छन्। 

लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत छन्।