काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारको माग गर्दै नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशनरत तिलक कोइरालाको स्वास्थ्यमा समस्या देखिएको छ। 

अनशनको तेस्रो दिन कोइरालाको स्वास्थ्यमा समस्या देखिएको हो। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीका अनुसार कोइरालालाई जीउ दुःख्ने, टाउको दुःख्ने र वाकवाकी लाग्ने समस्या देखिएको छ। ‘हामीले चिकित्सकहरुलाई सहयोग गर्न अपिल गरेका छौँ’, उनले भने, ‘अहिले एकजना चिकित्सक आएर स्वास्थ्य जाँच र परामर्श गर्दै हुनुहुन्छ।’

गत जेठ २० गतेबाट १९ बुँदे मागसहित पुँजी बजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरु आन्दोलित छन्। समितिका संयोजक कोइराला असार १ गतेदेखि आमरण अनशनमा बसेका छन्।

अध्यक्ष कार्कीले सरकारले लगानीकर्ताका जहाज माग पूरा गर्न ढिलाइ गर्न नहुने बताए। ‘हाम्रा मागबारे सरकारले बेवास्ता गरिरहेको छ’, उनले भने, ‘अनशनमा बस्नु भएका कोइरालाको अवस्था गम्भीर बन्दै गएको छ। सरकारले तत्काल कुनै कदम नचाले जे पनि हुन सक्छ। त्यसको जिम्मेवार स्वयं सरकार नै हुनेछ।’