काठमाण्डौ । तिहार विदापछि झूर प्रदर्शनसहित बजार खुलेको छ । बजारको झूर ओपनिङ पछाडि पर्वको ह्याङओभर र लगानीकर्तामा माथि उठ्न नसकेको मनोबलतर्फ संकेत गर्ने बजार विश्लेषकहरु बताउँछन् । 

लगानीकर्ताहरु ठूला चाडपर्व मनाउन व्यस्त हुँदा बजारको गतिशिलतामा कमी आएको उनीहरुको धारणा छ । अर्कोतर्फ, बजार सुधार तथा लगानीकर्ताको मनोबल उकास्नका लागि भरपर्दा प्रयास नहुँदा समेत बजारमा चमात्कारिक बढोत्तरी आउन सकेको छैन । 

बैंक तथा वित्तीय संस्थाहरुका तरलता अभावको समस्या भित्रभित्रै भूसमा लागेको आगो झै सल्किरहेको बैंकरहरुले बताइरहेका छन् । उनीहरुको दाबी सत्य हो भने तरलताको अभाव भई बैंक ब्याजदर अझै बढ्नेछ, जसको सोझो असर आगामी दिनको बजारमा पर्ने देखिन्छ । सेयर बजार र बैंक ब्याजदरबीचको सम्बन्ध विपरीत खालको हुन्छ, अर्थात ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर बढ्दा सेयर बजार घट्छ । 

यसरी हेर्दा लगानीकर्ताहरुमा बजारको भविष्यप्रति अझै पनि सशंयपूर्ण तस्विर नै ज्यूँका त्यूँ छ । बजार के हुने भन्ने स्पष्ट संकेत नहुँदा समेत बजारमा निरन्तर गिरावट आइरहेको जानकारहरु दाबी गर्छन् । 

यस्तै कारणले बिहीबार सेयर बजार परिसूचक(नेप्से) ३.१७ अंकले घटेर ११४६.१७ को विन्दूमा सीमित बन्न पुग्यो ।

यो दिन बलिया र राम्रा कम्पनीको सेयरमा थोरै भए पनि खरीद चाप देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स ०.०३ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा भने ०.३ अंकको गिरावट देखियो ।

यो दिन बैंकिङ समूह ३.४९ अंकले घट्यो भने विकास बैंक समूहमा १.९७ अंकको बढोत्तरी भयो भने बित्त समूह २.३२ अंक तथा माइक्रोफाइनान्स समूह ५.१६ अंकले घटे । 

होटल समूह ७ अंकले बढेको यो दिन जीवन विमा समूह २८.४६ अंक र निर्जीवन बिमा समूह ३९.९८ अंकले घटे । 

उत्पादन तथा प्रशोधन समूहमा १३.९६ अंकको  बढोत्तरी भयो भने अन्य समूह २.५१ अंकले बढ्यो । म्युचुअल फण्ड समूहमा यो दिन ०.२४ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५५ कम्पनीका १० लाख ६० हजार १९६ कित्ता सेयर २५ करोड ४३ लाख १२ हजार ४६२ रुपैयाँमा किनबेच भयो । 

प्राइम कमर्सियल बैंकको ६ करोड बढीको संस्थापक सेयरको कारोबार भएको यो दिन मेगा बैंकले २ करोड २२ लाख, प्रभू बैंकले १ करोड ७१ लाख, एनआइसी एशिया बैंकले १ करोड १९ लाख, सिद्धार्थ बैंकले ७३ लाख, एनसीसी बैंकले ६२ लाख, सानिमा बैंकले ५४ लाख, सिटिजन्स बैंकले ५२ लाख, नेपाल बैंकले ५१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्लोबल आइएमई लघुवित्त र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले बढ्यो । यी दुवै कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।

नवील इक्वीटी फण्डको इकाई मूल्यमा पहिरो गयो । करिब १० प्रतिशतले मूल्य घटेर नेगेटिभ सर्किट लाग्यो ।