काठमाण्डौ। यसपालिको तिहार तथा छठका अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ। 

यो अफर कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म लागू हुनेछ। चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फन्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ति एनसीएचएल तथा बैंक तथा वित्तीय संस्थाको समन्वयमा यो अफर लागू गरिएको हो।  

फन्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी ‘फन्ड ट्रान्सफर’ वा ‘सेन्ड मनी’मा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ। कनेक्टआईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक छैन। 

हाल मोवाइल बैंकिङमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार रु. २ लाखसम्मको फन्ड ट्रान्सफर गर्न सकिन्छ। 

यस निःशुल्क फन्ड ट्रान्सफरको प्रावधानले फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाडपर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ।  

कनेक्टआईपीएस फन्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत सञ्चालनमा रहेको छ। कनेक्टआईपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो ३ महिनामा रु. ५८२ अर्बबराबरको १ करोड १० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।