काठमाण्डौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टहरुमध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा पीएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ।

‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छुटको बहार’ भन्ने नाराका साथ सुरु हुने यो अफर यही भदौ १४ गते हरितालिका तीजका दिनदेखि ३१ भदौसम्म सञ्चालनमा आउने जनाएको छ। यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीले एक वर्षका लागि वार्षिक सेवा शुल्क (एएमसी) मा १०० प्रतिशत नै छुट पाउने प्रभु क्यापिटलले जनाएको छ। 

यो योजनामा यसअघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशतमात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ।

यो योजना महिलालाई केन्द्रित गरी ‘महिलालाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक वर्षअघि तीजकै अवसर पारी सञ्चालनमा ल्याइएको थियो। जसमा महिला ग्राहकले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्छन्। 

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीले अन्य पीएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ। 

त्यसैगरी ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ। 

प्रभु क्यापिटलको एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले https://bit.ly/3cwlYKb र आईओएस प्रयोगकर्ताले https://apple.co/3AnkU3a क्लिक गरी डाउनलोड गर्न सक्नेछन्।