काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक तीनजनालाई उपप्रधानमन्त्री बनाउने भएका छन् । 

ओलीले जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्री बनाउने भएपछि मन्त्रीपरिषदमा व्यापक हेरफेर गर्ने भएका हुन् । 

उनले महतोसँगै अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई पनि उपप्रधानमन्त्री बनाउन लागेका छन् । 

यस्तै, एमाले नेता रघुवीर महासेठलाई सरकारमा सामेल गराई उपप्रधानमन्त्री बनाउने उनको तयारी छ । महासेठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नेछन् । 

ओली सरकारमा हाल सहभागी एमालेतर्फका पुराना मन्त्रीमध्ये ४ जनाबाहेक सबैले विदा पाउने स्रोतले जनाएको छ । 

मन्त्रीमण्डल पुनर्गठन हुँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सरकारबाट बाहिरने भएका छन् ।  

पुनर्गठित क्याबिनेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले मात्र निरन्तरता पाउने ओली निकट स्रोतले जनाएको छ । 

यस्तै, कानूनमन्त्रीबाट विवादमा परी राजीनामा दिएका शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । गृह लगायतका महत्वपूर्ण मन्त्रालयमा कसलाई ल्याउने भन्ने विषय टुंगिसकेको छैन । गृहमन्त्रालयमा महेश बस्नेतको चर्चा छ । 

मन्त्री मण्डल पुनर्गठन हुँदा ओलीको प्रिय पात्र तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने छन् । ओलीको ४ लाई क्याबिनेटमा राखेर बाँकीलाई विदा गरी नयाँलाई स्थान दिने रणनीतिलाई चासोको साथ हेरिएको छ ।