काठमाण्डौ । नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनमा देखिएको सम्भावित फुटको खतरा २ दिनका लागि भए पनि टरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार बैठक गरी सत्ताबाट बाहिरिने निर्णय गर्नसक्ने अपेक्षाका बीच नाटकीय रुपले विकास भएका घटनाक्रमले अन्यौलपूर्ण अवस्थामा थोरै समय भए पनि ब्रेक लगाइदिएको छ । 

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठककै क्रममा एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र राप्रपाका अध्यक्ष राजेन्द्र  लिङ्देनको फोनले संकट टरेको हो । 

तीनै नेताले बैठककै क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई फोन गरी हतारमा सरकार छाड्ने निर्णय नगर्न सुझाएका थिए । रास्वपाले सरकार छाड्दा राजनीतिक अस्थिरता हुने र यसले जनतामा राम्रो सन्देश नजाने भन्दै नेताहरुले सम्झाएपछि सो दलले २ दिन कुर्ने निर्णय गरेको हो । 

निर्णयअनुसार अब रास्वपाले आफूहरुको माग पूरा गर्न प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रलाई २ दिनको समय दिएको छ । 

रास्वपाले नागरिकता प्रकरणका कारण आफूले गुमाएको गृहमन्त्रालय पुनः पाउनुपर्ने माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृह मन्त्रालय दिन इच्छुक नभएपछि अवस्था केही बिग्रिएको थियो । 

प्रचण्ड गृहमन्त्रालय रास्वपालाई नदिने विषयमा अडिग देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने त्यसको विपक्षमा उभिँदै आएका छन् । सत्तासीन दलहरुबीचको भागबण्डामा रास्वपाले गृहमन्त्रालय पाएकोले अब पनि सो मन्त्रालय उसैको हुने ओलीको तर्क छ । 

ओलीले गृहमन्त्रालय फेरि पनि रास्वपालाई नै दिन प्रचण्डलाई निरन्तर दवाब दिए पनि त्यसले काम गरेको थिएन । 

तर, रास्वपाले सरकार छाड्नेसम्मको निर्णय गर्ने तयारीसहित बैठक नै डाकेपछि प्रधानमन्त्री केही लचक बन्ने संकेत गरेका छन् । 

बैठक बसिरहेको बेला सभापति लामिछानेलाई सुरुमा एमाले अध्यक्ष ओली, त्यसपछि प्रचण्ड र तेश्रो फोन राजेन्द्र  लिङ्देनले गरेका थिए । उनीहरुले सत्ता तत्काल छाड्न नहुने, अहिलेको सत्ता गठबन्धन जोगाउनुपर्ने र आगामी राष्ट्रपति निर्वाचन पनि पूर्व सहमतिअनुसार नै हुने सम्भावना बढेको भन्दै लामिछानेलाई रोकेका थिए । प्रधानमन्त्री लचक हुने संकेत पाएपछि रास्वपाले २ दिनको समय दिएर कुर्ने निर्णय गरेको सो पार्टीका एक नेताले जानकारी दिए । 

रास्वपाले यो बीचमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुपर्ने माग गरेको छ । यो संयन्त्रको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली छन् । यो संयन्त्रबाट आफूहरुको माग सम्बोधन हुने रास्वपाले अपेक्षा गरेको बुझिएको छ । 

प्रचण्डले भने-यो गठबन्धन टुट्दैन
यसैबीच, प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन आवश्यक रहेको र नफुट्ने दाबी गरेका छन् । 

पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले त्यस्तो दाबी गरेका हुन् । 

उनले बाहिर हल्ला चलेजस्तो अहिलेको सत्ता गठबन्धन संकटमा नपर्ने र नफुट्ने पनि बताए । 

'हामी पूर्व सहमति कार्यान्वयन गर्न इमानदार छौं । कोही कसैले बेइमानी गर्नुहुन्न ।' उनले थपे-'गठबन्धन सरकार तलमाथि हुँदैन ।'