काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा ब्रोकर कम्पनी(धितोपत्र दलाल व्यवसायी)हरुलाई कारबाही गरेको छ । 

तोकिएको समयमा विवरण पेश नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई कारबाही गरिएको बोर्डले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 

बोर्डकाअनुसार धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले रु. दश हजार जरिवाना गरिएको छ । 

त्यसैगरी, धितोपत्र दलाल व्यवसायीहरु त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रा. लि. पनि कारबाहीमा परेका छन् । यी दुई ब्रोकर कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९।८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येकलाई बोर्डले रु. पचहत्तर हजार रुपैंयाका दरले जरिवाना गरेको हो ।