काठमाण्डौ । सोमबार एकसाथ तीनवटा सरकारी स्वामित्वका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका  छन् । 

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि  विकास बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । 

यी तीनवटा बैंकमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कमालको प्रगति गरेको छ भने कृषि विकास बैंकको  नाफा सामान्य वृद्धि   भएको छ । गत वर्ष सम्पत्ति बिक्री गरेर नाफा ह्वात्तै बढाएको नेपाल बैंक लिमीटेडको समीक्षा अवधिको नाफामा भने गिरावट आएको छ।

गत वर्षको दोश्रो त्रैमासमा १ अर्ब २१ करोड खूद नाफा आर्जन गरेको राष्टिय वाणिज्य बैंकले १ अर्ब ७८ करोड कमाएको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरी १ खर्ब १० करोड कर्जा परिचालन गरेको छ । 

व्यवसायमा बिस्तार गरेका कारण खूद ब्याज आम्दानी बढेको छ । गत वर्ष ३ अर्ब ४ करोड रहेको खूद ब्याज आम्दानी ४ अर्ब १ करोडको उचाईमा पुगेको छ । 

बैंकले संचालन नाफालाई १ अर्ब १५ करोडबाट बढाएर २ अर्ब ३ करोडको उचाईमा पुर्याएको छ । तर, बैंकले खराब  कर्जालाई भने  घटाउन सकेन, अघिल्लो वर्ष २.७५ प्रतिशत  रहेको यस्तो कर्जा बढेर ३.११ प्रतिशत पुगेको छ ।

बैंकको नाफामा राम्रो बढोत्तरी भएका कारण वार्षिकीकृत खूद ब्याज आम्दानी २८.३६  रुपैयाँबाट वृद्धि भई ४१.५९ रुपैयाँको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ  १४२.५९ रुपैयाँ कायम  भएको छ ।

उता,  कृषि विकास बैंकले समीक्षा अवधिमा १ अर्ब २  करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९० करोड ६६ लाखमा सीमित थियो । यो बैंक दोश्रो  त्रैमासमा अर्ब कमाउने बैंकको सूचिमा पहिलोपटक पर्न सफल भएको हो । नाफालाई १ अर्ब माथि कटाए पनि संचालन नाफा, रिजर्ब, खूद ब्याज आम्दानीमा भने बैंकको प्रदर्शन खराब देखिएको छ। 

बैंकले यो अवधिमा ९८ अर्ब १७ करोड  निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही  अवधिमा बैंकले ८७  अर्ब ६५ करोड निक्षेप संकलन गरी ८७ अर्ब ५ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको खूद ब्याज आम्दानी भने घटेको देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब १० करोड रहेको खूद ब्याज आम्दानी घटेर २ अर्ब  ६५ करोडमा सीमित बन्न पुगेको हो । यस्तै, संचालन मुनाफा समेत घटेको देखिएको छ  । ६८ करोड ४९ लाख रहेको संचालन मुनाफा घटेर ४१ करोडमा सीमित बन्न पुगेको हो । 

बैंकको रिजर्ब कोष पनि घटेको छ । अघिल्लो वर्ष ९ अर्ब २९ करोड रहेको रिजर्बकोष घटेर ८ अर्ब ९२ करोडमा झरेको हो ।

बैंकमा खराब कर्जाको अनुपात पनि बढेको छ । अघिल्लो वर्ष ३.८२ प्रतिशत रहेको खराब कर्जा बढेर ३.९५ प्रतिशत पुगेको  हो ।

बैंकको प्रतिसेयर आम्दानी ३६.७० रुपैयाँबाट घटेर २४.२० रुपैयाँमा सीमित बन्न पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २०४.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.६२ गुणा कायम भएको छ।

यसैगरी, नेपाल बैंक लिमीटेडको नाफा भने घटेको छ । अघिल्लो वर्षको यही  अवधिमा १ अर्ब ८९ करोड रहेको नाफा घटेर यो वर्ष १ अर्ब ६३ करोडमा सीमित बन्न पुगेको छ ।

यो बैंकको खूद नाफा घट्यो भनेर आत्तिनुपर्ने अवस्था देखिन्न ।  कारण, नियमित  व्यवसायबाट हुने आम्दानीमा सुधार नै देखिन्छ । गत वर्ष सम्पत्ति बिक्रीमा ध्यान दिएका कारण धेरै नाफा देखिएको थियो । 

बैंकले समीक्षा अवधिमा रिजर्बकोषलाई  चमात्कारिक ढंगले बढाएको छ । अघिल्लो वर्ष २ अर्ब  २६ करोड रुपैयाँ  रहेको रिजर्बलाई बढाएर बैंकले यो वर्ष ५ अर्ब ४ करोडको उचाईमा पुर्याएको छ । 

बैंकले समीक्षा अवधिमा ९१ अर्ब ८९ करोड निक्षेप संकलन गरी ७८ अर्ब ७१ करोड कर्जा  प्रवाह गरेको छ । अघिल्लो वर्ष ८४ अर्ब ८३ करोड निक्षेप संकलन गरी ७० अर्ब ८१ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको संचालन नाफा १ अर्ब ३८ करोड रहेकोमा बढेर १ अर्ब ७७ करोडको उचाईमा पुगेको छ । 

बैंकले खराबकर्जालाई भने नियन्त्रणमा राख्न सकेको देखिएन । अघिल्लो वर्ष २.८५ प्रतिशत रहेको खराब  कर्जा  बढेर ३.२३ प्रतिशत पुगेको हो ।

यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५८.३१ रुपैयाँबाट घटेर ४०.७४ रुपैयाँमा सीमित  बन्न पुगेको छ । यस्तै, यो अवधिमा  प्रतिसेयर नेटवर्थ १६२.७६ रुपैयाँ  र मूल्य आम्दानी अनुपात ८.६४ गुणा कायम भएको छ ।