काठमाण्डौ । उद्योग विभागले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक प्रगति विवरणअनुसार ३ महिनामा १०७ वटा विदेशी लगानी (परियोजना) स्वीकृत भएका छन्। यी परियोजनाबाट २४ अर्ब लगानी (प्रस्तावित) भएको विभागले जनाएको छ। 

यी सबै परियोजना सञ्चालनमा आए ७ हजार १ सय ९५ जनाले रोजगारी प्राप्त गर्ने प्रगति विवरणमा उल्लेख छ। 

यो अवधिमा विभागमा स्वदेशी तथा विदेशी गरी ८७ वटा उद्योग दर्ता भएका छन्। जसमा ठूला उद्योग २६ वटा, मझौला उद्योग ३४ वटा र साना उद्योग २७ वटा रहेका छन्। यी उद्योगका कुल लगानी (प्रस्तावित) १ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ। 

विभागका अनुसार यो ३ महिनाको अवधिमा ९१० वटा नयाँ ट्रेडमार्क दर्ता भएका छन्। यसैगरी डिजाइन दर्ता संख्या ५ रहेको छ। 

प्रगति विवरणअनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आईई) गर्नेको संख्या १४ रहेको छ।