काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा सेयर बजारमा क्लोजआउटबापतको जरिवाना रकममा भारी गिरावट आएको छ। 

सीडीएससीका अनुसार समीक्षा अवधिमा लगानीकर्ताले क्लोजआउटको जरिवानाबापत ८३ लाख ३० हजार ८४६ रुपैयाँ तिरेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो रकम ५ करोड ६२ लाख ४७ हजार ३५३ रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेयर बजारमा मन्दी आउँदा लगानीकर्ताले तिर्ने जरिवानाबापतको रकममा पनि भारी गिरावट आएको हो। लगानीकर्ताले सेयर किनेपछि समयमै ईडीआईएस नगर्दा क्लोजआउटको जरिवानाबापत २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ।  

क्लोजआउटको जरिवनाबाट बच्ने कसरी ?

धेरैजसो नयाँ लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको एक ब्रोकर सञ्चालकले बताए। ‘धेरै नयाँ लगानीकर्तालाई सेयर बेचेपछि ‘मेरो सेयर’मा गएर २४ घन्टाभित्रै ईडीआईएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ’, ती सञ्चालकले भने, ‘लगानीकर्तामा सेयर बेचेपछि आफ्नो काम पूरा भएको भन्ने भ्रमका कारण क्लोजआउटमा पर्ने गर्छन्। यसमा नियामक निकायबाट सचेतना कार्यक्रमको पनि अभाव रहेको देखिन्छ।’

खासगरी क्लोजआउटबाट बच्नका लागि सेयर बेचेकै दिन ईडीआईएस गर्नु सबैभन्दा राम्रो विकल्प देखिन्छ। किनकि भोलिपल्ट पुनः कोही लगानीकर्ताले भुलवश सोही कम्पनीको सेयर बेच्न पुगेमा अहिलेको टीएमएसले बेचिदिन्छ। त्यसपछि ईडीआईएस गरे पनि ती लगानीकर्ताले आफूसँग नभएको सेयरको क्लोजआउटबापतको रकम तिर्नुपर्ने हुन्छ।

उदाहरणका लागि यदि कुनै लगानीकर्तासँग ‘ए’ नाम गरेको कम्पनीको ५०० कित्ता सेयर छ। ती लगानीकर्ताले उक्त कम्पनीको ५०० कित्ता सेयर बेचे तर उनले ईडीआईएस गर्न बिर्से। तिनै लगानीकर्ताले फेरि भोलिपल्ट अघिल्लो दिन बेचेकै कम्पनीको सेयर भूलवश ५०० कित्ता नै बेचे र ईडीआईएस पनि गरे। यो अवस्थामा ती लगानीकर्ताले बढी बेचिएको ५०० कित्ताको क्लोजआउटबापत जरिवाना तिर्नुपर्ने हुन्छ।

यसरी लगानीकर्ता र टीएमएस दुवैको गल्तीले देश तथा विदशबाट कारोबार गर्नेहरु क्लोजआउटमा पर्ने गरेको पाइन्छ। त्यसैले सेयर बेचेकै बेलुका अथवा भोलिपल्ट पनि दोस्रो कारोबार गर्नुभन्दा पहिले ११ बजेअगाडि नै ईडीआईएस गरेको खण्डमा जरिवानाबाट बच्न सकिन्छ। किनकि ईडीआईएस गरेपछि मेरो सेयरले ब्यालेन्स घटाइदिन्छ। 

क्लोजआउटबाट बच्ने अर्को सबैभन्दा उत्तम विकल्प भनेको सेयर कारोबार गर्दा टीएमएसको ब्यालेन्सबाट नभईकन मेरो सेयरको ब्यालेन्स हेरेरमात्र सेयर बेच्नु उपयुक्त हुन्छ।