काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५० करोड ४० लाख बढी नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा १४८.४१ प्रतिशतको वृद्धि भएको हो । 

समीक्षा अवधिका लागि बैंकको नाफा ६ करोड ९७ लाख मात्र रहेको छ । 

बैंकको संचालन मुनाफामा पनि ह्वात्तै बढोत्तरी भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म कायम संचालन मुनाफाको तुलनामा यो वर्ष १७१ प्रतिशत बढीले वृद्धि भएको हो । अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ९७ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ७३ करोड २२ लाखको उचाईमा पुगेको हो । 

बैंकको खूद ब्याज आम्दानीमा पनि राम्रो प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ९३ करोड ४५ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ४६ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ९१ अर्ब ६९ करोड बढी निक्षेप संकलन गरी ८३ अर्ब ४२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ८८ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी ७९ अर्ब ३ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) ४.८३ रुपैयाँ रहेकोमा बढेर यो वर्ष ११.६६ रुपैयाँको उचाईमा पुगेको छ । 
बैंकले अघिल्लो वर्षको यही अवधिसम्म १.७० प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.९४ प्रतिशतमा झार्ने महत्वपूर्ण सफलता समेत हात पारेको छ । 

यस्तै, समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८८.८८ प्रतिशत, कस्ट अफ फण्ड ६.८० प्रतिशत, मूल्य आम्दानी अनुपात २१.८७ गुणा, प्रतिसेयर नेटवर्थ १२९.३९ रुपैयाँ र तरलता अनुपात २०.०९ प्रतिशत रहेको छ ।