काठमाण्डौ । आफूसँग टन्न पैसा, एउटा घर र अनि गाडी होस् भन्ने सबै चाहन्छन्। तर, आममानिसका लागि यी चाहना पूरा गर्न कडा मेहनत र राम्रो वित्तीय योजना आवश्यक हुन्छ। यसका साथै पैसासँग जोडिएका खराब बानी पनि छाड्नुपर्ने हुन्छ। 

हामी थाहा हुँदैन कि पैसासँग जोडिउका खराब बानीले हामीलाई धन आर्जन गर्न रोकिरहेको हुन्छ। त्यसैले यहाँ हामी पैसासँग जोडिएका केही खराब बानीको चर्चा गर्न गइरहेको छ। जसलाई छोड्न सकिए आफ्नो चाहना सहजै पूरा गर्न सकिन्छ। 

१. पहिला खर्च र पछि बचतका बारेमा सोच्नु

कोही पनि व्यक्तिले आफ्नो आम्दानी २०–३० प्रतिशत बचत गर्नु उपयुक्त हुन्छ। पहिले हामीले बचतका बारेमा सोच्नुपर्छ । अनिमात्र खर्च गर्नुपर्छ। यसले दीर्घकालमा फाइदा हुन्छ। यदि हामी जागिरे छौँ भने सेवानिवृत्तपछिको अवस्था, आमा–बुवा हौँ भने छोराछोरीको भविष्य र अन्य कारणको राम्रो फन्ड चाहिन्छ। त्यसैले जागिरको सुरुआतबाट बचतको बानी बसाल्नुपर्छ । तर कतिपयले पहिला खर्च गर्ने र पैसा बच्यो भने बचत गर्ने सोच बनाउँछन्। जुन उचित होइन।

२. आकस्मिक फन्ड तयार नगर्नु

कुनै पनि समस्या वा घटना हुँदैछ भने हामीलाई पहिले नै जानकारी हुँदैन। त्यसैले त्यस्ता सम्भावित समस्या वा घटनालाई लड्न हामीले पहिलेदेखि नै आकस्मिक फन्ड तयार गर्नुपर्छ। यस्तो फन्डका लागि आफ्नो आम्दानीको २०–३० प्रतिशत छुट्याएर जम्मा गर्नुपर्छ। यसले हामीले ठूलो समस्याबाट बाहिर निकाल्न सक्छ। तर, कतिपयले यस्ता फन्ड तयार गरेका हुँदैन र पछि समस्या पर्दा वा कुनै घटना हुँदै अरुसँग हात फैलाउनुपर्ने वा ऋण लिनुपर्ने अवस्था सिर्जना हुन्छ। यसले ऋणको बोझ बढाउनेबाहेक अन्य काम गर्दैन। 

३. मासिक बिल भुक्तानीमा ढिलाइ

हामीले पानी, बिजुली वा क्रेडिट कार्डको बिल तिर्नुपर्ने हुन्छ। यदि हामीले समयमै यी अत्यावश्यक बिलहरुको भुक्तानी गर्यौँ भने हाम्रो आर्थिक बोझ कम हुँदै जान्छ। यसले बचतमा पनि असर गर्दैन। तर यस्ता भुक्तानीहरुमा ढिलाइ गरेमा यसले एकातिर जरिवाना बढाइरहेको छ भने अर्कोतिर तपाइँको बचतमा असर गरिरहेको हुन्छ। जसका कारण भविष्यमा सोचेअनुरुपको धनराशि जम्मा गर्न सकिँदैन। त्यसैले मासिक रुपमा भुक्तानी गर्नुपर्ने बिलहरुको समयमै तिर्दा उचित हुन्छ।

४. फजुल खर्च

कतिपय अवस्थामा हामीले फजुल खर्च गरिरहेका हुन्छौँ। जुन हामीलाई सामान्य लाग्न सक्छ। तर, यस्ता फजुल खर्चहरुले हाम्रो आम्दानीसँगै बचतमा प्रभाव पारिरहेका हुन्छन्। जसका कारण हामी भविष्यका लागि राम्रो धनराशि जोड्न सक्दैनौँ। त्यसैले सकभर फजुल खर्च गर्नबाट बच्नुपर्छ। यसो गरिएमा बचत बढ्न गई भविष्यमा आरामदायी जीवनयापन गर्न सकिन्छ।

५. कमाइबराबरको खर्च

हामीले पहिले नै भनिसक्यौँ कि आफ्नो आम्दानीको २०–३० प्रतिशत बचत गर्नुपर्छ। तर कतिपयले आफ्नो आम्दानीबराबरको खर्च गर्छन्। अझ भनौँ, त्योभन्दा बढी खर्च गर्छन्। जसका कारण बचतको कुरा छाडौँ ऋणको बोझ बढ्दै जान्छ। त्यसैले हामीले आफ्नो आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ। यसले एकातिर बचतलाई बढावा दिन्छ भने अर्कोतिर भविष्यका लागि राम्रो धनराशि जोड्न सघाउ पुर्याउँछ।

६. बचतको पैसा त्यत्तिकै राख्नु

कतिपय मानिसले आफ्नो बचतको पैसा वर्षौंसम्म बैंकमा जम्मा गरेर राख्छन्। तर उक्त पैसा राम्रो आम्दानी हुने ठाउँमा लगाउने हो भने त्यही बचतको पैसाले भविष्यमा ठूलो धनराशि आकार लिन सक्छ। तर अन्य क्षेत्रमा लगाउँदा पैसा डुब्छ कि भन्ने डरले कतिपयले सुरक्षित रुपमा बैंकमै राख्न रुचाउँछन्, जुन उचित होइन।