काठमण्डौ। विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावलाई ध्यानमा राख्दै भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा हालै लगाइएको कर (विन्डफल ट्याक्स) घटाएको छ। 

भारत सरकारले तीन साताअघि मात्रै डिजेल, पेट्रोल र हवाई इन्धन (एटीएफ) निर्यातमा विन्डफल कर लगाएको थियो। कर घटाउने निर्णयबाट पेट्रोलियम पदार्थको सबैभन्दा ठूलो भारतीय निर्यातकर्ता रिलायन्स इन्डस्ट्रिज (आरआईएल) लगायत ओएनजीसी जस्ता सरकारी तेल कम्पनीहरूले पनि सरकारको यो निर्णयबाट लाभान्वित हुने भएका छन्।

कच्चा तेलको मूल्यवृद्धिलाई मध्यनजर गर्दै भारत सरकारले तीन साताअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा निर्यात शुल्क बढाउने निर्णय गरेको थियो। स्वदेशी रिफाइनरी कम्पनीहरुले डिजेल, पेट्रोल र एटीएफ निकासी गरेर ठूलो नाफा आर्जन गरिरहेका बेला भारत सरकारले यस्तो निर्णय गरेको थियो। 

भारत सरकारले पेट्रोल र एटीएफ निकासीमा प्रतिलिटर ६ रुपैयाँ महसुल बढाएको थियो। त्यस्तै, डिजेल निकासीमा प्रतिलिटर १३ रुपैयाँ महसुल बढाइएको थियो। यसबाहेक स्वदेशी कच्चा तेलमा प्रतिटन २३ हजार २३० रुपैयाँ थप कर लगाउने निर्णय पनि भारत सरकारले गरेको छुट्टै सूचनामा उल्लेख गरेको थियो। 

भारत सरकारको पछिल्लो सूचनाअनुसार डिजेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले विन्डफल कर घटाइएको छ। त्यसैगरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँका दरले लाग्ने विन्डफल कर पूर्ण रुपमा हटाइएको छ। यसबाहेक स्वदेशमा उत्पादित कच्चा तेलको निकासीमा लाग्ने कर झन्डै २७ प्रतिशतले घटाएर अहिले प्रतिटन १७ हजार रुपैयाँ पुगेको छ। 

ब्लुमबर्गले पहिलोपटक गत हप्ता बिहीबार रिपोर्ट गरेको थियो कि भारत सरकारले हालै लगाइएको विन्डफल कर घटाउने विचार गरिरहेको छ।

भारतको केन्द्रीय सरकारले जुलाई १ गतेदेखि पेट्रोलियम पदार्थमा विन्डफल कर लगाउने घोषणा गरेको थियो। त्यसबेला धेरै देशहरुले रिफाइनरी कम्पनीहरुले कमाइरहेको ठूलो नाफामा भाग लिन यस प्रकारको विन्डफल कर लगाएका थिए। तर, त्यसयता विश्वमा कच्चा तेलको मूल्यमा गिरावट आउन थाल्यो। जसका कारण कच्चा तेल उत्पादन गर्ने तथा रिफाइनरी कम्पनीहरुको नाफा घटेको छ। अब कर घटाएपछि यस्ता कम्पनीले राहत पाउनेछन्। जसका कारण आज यी कम्पनीको सेयर मूल्य बढेको छ।

गत फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमणपछि कच्चा तेलको मूल्यमा कीर्तिमानी वृद्धि भएको थियो। तर, पछि विश्वभर आर्थिक मन्दीको आशंका गहिरिएपछि कच्चा तेलमा असर परेको थियो र जुनको दोस्रो सातादेखि तिनको मूल्यमा गिरावट आउन थालेको थियो। यसले स्वदेशमा उत्पादित कच्चा तेल अन्य देशमा बेचेर कमाएको लाभलाई पनि सीमित गर्यो। 

त्यसैगरी भारतको स्वदेशी रिफाइनरीमा तयार हुने पेट्रोलियम पदार्थ निकासी गर्ने कम्पनीको नाफामा पनि असर परेको थियो। 

तथ्यांकअनुसार भारतको एकमात्र निजी रिफाइनरी नायरा इनर्जी लिमिटेडले मात्रै भारतको पेट्रोल–डिजेल निर्यातमा ८०–८५ प्रतिशत योगदान पुर्याउँछ। यस कम्पनीमा रिलायन्स इन्डस्ट्रिज र रोजनेफ्टको सेयर रहेको छ। –एजेन्सी