काठमाण्डौ। यस वर्ष विश्व अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने अनुमानबीच तेल निर्यातकर्ता अरब देशहरु ऊर्जाको उच्च मूल्यका कारण मालामाल हुने भएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको हो। रिपोर्टका अनुसार तेलको मूल्यमा भइरहेको मूल्यवृद्धिले अरब देशहरुको अर्थतन्त्र बलियो हुनेछ र वित्तीय भण्डारसमेत वृद्धि हुनेछ। यद्यपि यो अवस्थाका कारण विश्वका अन्य देशहरुले भने चुनौतीहरुको सामना गर्नुपर्ने जनाइएको छ। 

रिपोर्टका अनुसार कच्चा तेलको मूल्यमा भइरहेको तीव्र वृद्धिले अरब देशहरुको अर्थतन्त्रमा उछाल आउने र उनीहरुलाई अप्रत्यासित लाभ हासिल हुनेछ। तथापि कच्चा तेल आयात गर्ने पश्चिम एसियाली देशहरु र ब्ल्याक सी क्षेत्रबाट हुने खाद्य आयातमाथि निर्भर हुने इजिप्टजस्ता देशहरुमा भने तेलको मूल्य वृद्धिको नकारात्मक प्रभाव पर्नेछ। 

तेलको मूल्यमा भइरहेको मूल्यवृद्धिका कारण यस वर्ष साउदी अरबको अर्थतन्त्र ७.६ प्रतिशत र कुवेतको अर्थतन्त्र ८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। आइएमएफको यो अनुमान सन् २०२२ मा कच्चा तेलको मूल्य औसतमा प्रतिब्यारेल १०७ डलर र सन् २०२३ मा प्रतिब्यारेल ९२ डलरको आसपासमा रहने प्रक्षेपणमा आधारित छ। 

यद्यपि बुधबार भने कच्चा तेलको मूल्यमा गिरावट आएको छ। बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य ०.६६ प्रतिशतले घट्दै प्रतिब्यारेल १०३.९१ डलरमा सीमित भएको छ। –एजेन्सी