काठमाण्डौ। भारतले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य पाँच महिनामा अघि नै पूरा गरेको छ। 

भारत सरकारले कच्चा तेलको आयातमाथिको परनिर्भरता कम गर्नका लागि सन् २०२५–२६ सम्म यो आँकडा दुईगुणा पुर्याउने लक्ष्य लिएको छ। भारत सरकारले सन् २०२२ भित्र उखु र अन्य कृषिजन्य वस्तुबाट निकालिएको इथानोललाई पेट्रोलमा १० प्रतिशत मिश्रण गर्ने लक्ष्य लिएको थियो। तर, भारतले यो लक्ष्य जुन महिना अर्थात ५ महिनाअघि नै भेट्टाएको हो। 

इन्डियन आयल कर्पोरेसन(आईओसी), भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड (बीपीसीइल) र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल)को अथक प्रयासका कारण पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने लक्ष्य समय अगावै पूरा भएको जनाइएको छ। 

पेट्रोलमा इथानोल मिश्रण गर्दा भारत सरकारले ४१ हजार ५०० करोडभन्दा बढी विदेशी मुद्रा बचत गर्न सफल भएको रिपोर्टमा उल्लेख गरिएको छ। यस्तै हरित ग्यास उत्सर्जनमा २७ लाख टनको कमी आउनुका साथै किसानहरुलाई ४० हजार ६०० करोड भारुभन्दा बढी रकम भुक्तानी गरिएको छ।   

अमेरिका, ब्राजिल युरोपेली संघ र चीनपछि विश्वको सबैभन्दा धेरै इथानोल उत्पादन गर्ने भारत पाचौँ ठूलो देश हो। विश्वभर इथानोलको प्रयोग ठूलो मात्रामा गर्ने गरिन्छ। तर, भारत र ब्राजिलजस्ता देशहरुले भने यसलाई पेट्रोलमा मिश्रण गर्ने गर्छन्। 

भारत सरकारले ऊर्जा सुरक्षा बढाउन, इन्धनका लागि आयातमाथिको परनिर्भरता कम गर्न, विदेशी मुद्रा बचाउन, पर्यावरणीय समस्याहरुको समाधान गर्न र घरेलु कृषि क्षेत्रलाई बढावा दिन इथानोल मिश्रित पेट्रोल कार्यक्रम (ईबीपी) कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ। –एजेन्सी