काठमाण्डौ । पछिल्लो समय रियल स्टेट बजार साउदी अरबको आम्दानीको सबैभन्दा ठूलो स्रोत बन्दै गएको छ।
विश्वका केही भागमा ऊर्जाको मूल्यवृद्धि भएपछि अहिले साउदीको अर्थतन्त्रमा पनि परिवर्तन आएको छ। हालै रियादको नयाँ अब्दुलसलाम अल्माजेदमा ३०० अपार्टमेन्ट फटाफट बिक्री भए। एक महिनामा मानिसहरुले नगद तिरेर घर किने र त्यो पनि विज्ञापन नै नगरिएको अवस्थामा।
एउटा अपार्टमेन्टको मूल्य १ लाख रियाल थियो। विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अहिले रियल स्टेटको पनि ठूलो बजार बन्न थालेको छ।
विज्ञहरूका अनुसार यो आर्थिक र सामाजिक परिवर्तनले साउदी अरबलाई नयाँ पहिचान दिइरहेको छ। यसको एउटा कारण साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानद्वारा सुरु गरिएका कार्यक्रमहरु पनि हुन्। जसको उद्देश्य देशलाई नयाँ अनुहारमा ढाल्नु हो। अल्माजेद रेसिडेन्सको विकास गरेका अल्माजेद भन्छन्, ‘अहिले यहाँ मानिसको सोचमा परिवर्तन आएको छ।’
अल्माजेद साउदी अरबको सबैभन्दा ठूलो घरजग्गा विकासकर्ता हुन्।
मोहम्मद बिन सलमान सत्ताको केन्द्रविन्दु बनेका छन्। बुवाले आफ्नो कद बढाएपछि उनको राजनीतिक प्रभाव पनि बढेको छ। सन् २०१५ मा राजा सलमानले उनलाई युवराज घोषणा गरेका थिए।
मोहम्मद बिन सलमानले मनोरञ्जनमा लगाइएको प्रतिबन्ध पनि हटाए। यसका साथै महिला–पुरुषसँगै बस्न प्रतिबन्ध पनि हटाइएको छ। यसका साथसाथै उनले अहिले तेलमाथिको निर्भरता घटाउन सक्ने खालका प्रयासहरु अगाडि बढाइरहेका छन्।
१० वर्षअघिसम्म देशका धेरै रियल स्टेट व्यवसायीहरु महिलालाई घर भाडामा दिन हिचकिचाउँथे। महिलालाई घर किन्नेदेखि लिएर हरेक निर्णयका लागि पुरुष अभिभावकको स्वीकृति चाहिन्थ्यो। तर, अहिले महिलाहरु साउदीको वर्कफोर्स मार्केटमा प्रवेश गरिरहेका छन् र त्यो पनि ठूलो संख्यामा। यतिमात्र होइन अलमाजेदमा फ्ल्याट खरिद गर्ने ग्राहकमध्ये ३० प्रतिशत महिला छन्। उनीहरु आफैँले यी सम्पत्तिमा लगानी गरिरहेका छन् वा आफ्नै लागि घर किनिरहेका छन्।
यसअघि साउदी अरबमा धेरै मानिसहरुले आफ्नो गोपनीयता सुरक्षित राख्न अग्लो पर्खाल र साना झ्याल भएको घरलाई प्राथमिकता दिएका थिए। तर, अहिले परिवर्तन आउँदा साना परिवारको चलन बढ्दै गएको छ। कम बजेटका कारण अहिले घर किन्ने चलनमा परिवर्तन आएको छ। अल्माजेदले बनाएका फ्ल्याटहरुमा साझा बरामदादेखि लिएर क्याफे, जिम र नर्सरीसम्मको सुविधा छ।
रुस र युक्रेनबीच जारी युद्धपछि विश्वभर महँगी बढ्दै गएको छ। यस वर्ष तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ र साउदी अरेबियाले यसको प्रत्यक्ष फाइदा उठाएको छ। यो अहिले जी–२० मा सबैभन्दा छिटो विकास गर्ने देश बनेको छ। दोस्रो त्रैमासिकमा जीडीपी ११.८ प्रतिशत पुगेको छ। साउदी अरबको तेल कम्पनी अरामको सबैभन्दा बढी लाभान्वित भएको थियो। साउदीमा करोडौँ डलर आउँदैछ र यहाँ लगानी बढिरहेको छ।
योसँगै साउदी अरबको निजी क्षेत्र अहिले सरकारी ठेक्कामा भर पर्दै गएको छ। वैशाखदेखि जुनसम्म साउदीमा खर्च ६४ प्रतिशतले बढेको छ। यससँगै त्यहाँ धेरै मल र पार्क पनि बन्न थालेका छन्।
त्यस्तै लाल सागरमा लक्जरी पर्यटन विकास कार्यक्रम पनि सञ्चालन भइरहेको छ। यो वर्ष साउदीको बजेट घट्ने भनिएको बेला पनि कुल खर्च १६ प्रतिशतसम्म पुगेको थियो। –एजेन्सी
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago