काठमाण्डौ। आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ मंगलबारदेखि काठमाण्डौस्थित मण्डीखाटार टेनिस क्लबमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमी खेलाडी एवं कार्डियोथोरासिक सर्जन डा भगवान कोइरालाले गरेका छन्। उद्घाटनसत्रलाई सम्बोधन गर्दै डा कोइरालाले टेनिस सबैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवर्द्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे। 

कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीलगायत टेनिस खेलप्रेमी खेलाडीहरूको उपस्थिति रहेको थियो। 

यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका १ सय ५ जना खेलाडीहरूले भाग लिनेछन्। 

टेनिस खेलको विकास र विस्तारमा सहयोग  पुगोस् र बालबालिकामा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ। गत वर्ष कोभिड–१९ का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो। आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गरिनेछ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो। फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।