काठमाण्डौ। अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताअन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन्। 

काठमाण्डौको मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइजतर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन्। पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका थिए। अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन्। अकिले आरभलाई पराजित गर्न ३ घन्टा समय खर्चिएका थिए। 

यस्तै गल्र्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन्। सर्भानीले दुवै सेट ७–५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन्। सर्भानीले रैनालाई हराउन साढे ३ घन्टा लागेको थियो। 

दुवै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारे। विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, आईएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे।  

सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गरिन्। 

फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाइमा पनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भाग लिने खेलाडीहरु सबै च्याम्पियन हुने बताए। 

पूर्वएआईजी भण्डारीले आईएमईजस्तो संस्थाले बालबालिकालाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गरे। 

आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा देशैभरका कुल १०५ खेलाडीले सहभागिता जनाएका थिए। गल्र्सतर्फ ४५ र ब्वाइजतर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। 

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो। फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।