काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष यस अवधिमा कम्पनीको नाफा ७५४.०६ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८०४.०५ प्रतिशतले बढेर ८५ करोड २६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ९ करोड ४३ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ८२ करोड ८९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङमा ३४ करोड ४४ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २१.७० रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस २.८३ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १४२.१२ रुपैयाँ, पीई रेसियो ३६.४७ गुणा र तरलता अनुपात २.०४ प्रतिशत रहेको छ।