काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३०५.९२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी पनि ५२.५७ प्रतिशतले बढेर ६ करोड ९९ लाख रुपैयाँ भएको छ। गत वर्ष विद्युत बिक्रीबाट कम्पनीले ४ करोड ५८ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो। 

कम्पनीले यो अवधिमा ४ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। यस्तो मुनाफा गत वर्ष यही अवधिमा ३ करोड ४७ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर २ करोड ६४ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत ईपीएस ११.८३ रुपैयाँ, पीई रेसियो ३५.७४ गुणा र प्रतिसेयर नेटवर्थ १०९.८६ रुपैयाँ रहेको छ। 

यो कम्पनीले हालै विद्युत नियमन आयोगबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ।