काठमाण्डौ । सेयर बजारमा आइतबार पहिरो गएको छ। 

बजार आज १०८.२६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८१८.७३ को विन्दुमा झरेको छ। 

आज कारोबारकै समयमा नेप्से परिसूचक दिउँसो १ बजे ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो। दिउँसो १ बजेसम्म बजार १४७.३१ अंकले घटेको थियो। जुन हालसम्मकै सबैभन्दा उच्च अंक हो। 

यद्यपि स्थगित कारोबार खुलेपछि बजार घटाइ कम हुँदै गएको थियो। तर दिउँसो २ बजेपछि पुनः बजारको घटाइले तीव्रता पाएको थियो। 

आज कारोबार सवा ११ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट सेयर धितो कर्जाको विषयले नै आज बजारमा पहिरो खसेको बताउँछन्। ‘लगानीकर्ताको मनोबल गिर्दा बजारमा प्यानिक सेल आएको हो’, उनले भने, ‘यस विषयमा सरकार र नियामक निकायले बेलैमा उचित कदम चाल्न आवश्यक देखिन्छ। किनकि नियामक निकाय अभिभावक रुपमा रहेका हुन्छन्, अस्वाभाविक रुपमा बजार बढ्दा बोल्ने निकायले घट्दा पनि बजारमा उठेका मागको सम्बोधन गर्नुपर्छ।’

नियामकले बजारमा विश्वासको वातावरण सिर्जना गर्नुपर्ने अवस्था देखिएको पनि बिष्टले बताए। ‘सेयर बजारबाट ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले यही अवस्था रहिरहने हो भने १० अर्ब रुपैयाँ उठाउन पनि हम्मेहम्मे पर्छ।’

बजार जानकार प्रेम ओली बजारको आजको बजार अस्वाभाविक रुपले घटेको बताए। ‘आज यसरी बजार ठूलो अंकले घट्नुपर्ने अवस्था थिएन, मौद्रिक नीतिमा गरिएको सेयर कर्जाको सीमाले बजार घटेको हो’, उनले भने, ‘सरकार र नियामकले बजारका साना लगानीकर्ताको हितमा काम गरेकोजस्तो देखिए पनि पछिल्लो अवस्थाले सानालाई बेवास्ता गरिएजस्तो देखिएको छ।’

बजारमा लगानीकर्ताको मनोबल बनाउन सम्बन्धित निकायले चासो देखाएर नीतिगत सुधार गर्न आवश्यक रहेको ओलीको भनाइ छ। ‘यस विषयमा सम्बन्धित निकायले सोचविचार गर्न आवश्यक छ’, उनले भने। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ८.०१ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ७.२१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.२७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.४५ प्रतिशत, जलविद्युत समूहमा ६.५१ प्रतिशत, लगानी समूहमा ४.७३ प्रतिशत, जीवन बीमा समूहमा ३.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.६ प्रतिशत, लघुवित्त समूहमा २.९ प्रतिशत, म्युचुल फन्ड समूहमा १.८९ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.८५ प्रतिशत, अन्य समूहमा ४.४३ प्रतिशत र व्यापार समूहमा ६.०५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४.६३ रुपैयाँमा किनबेच भएको छ। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७० करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयाँ, नबिल बैंकको २४ करोड ६५ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २१ करोड ९१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २१ करोड ९० लाख रुपैयाँ, नेसनल हाइड्रोको २० करोड ८१ लाख रुपैयाँ, ज्योति विकास बैंकको २० करोड ३३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड १३ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको १९ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन सानिमा लाइफको सेयरभाउ १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।

आज २४ वटा कम्पनीको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर, हिमालयन ऊर्जा विकास, रुरु जलविद्युत र सीईडीबी हाइड्रोपावरको सेयरभाउ १० प्रतिशत तथा ग्रिनलाइफ हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, पाँचथर पावर, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, लिबर्टी इनर्जी पावर, हिमाल दोलखा हाइड्रोपावर, सिन्धु विकास बैंक, अपी पावर र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयरभाउ पनि १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको छ।

आज अन्य ७ कम्पनीका सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ।