काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ यही साताभित्र बाँडफाँड गर्ने तयारी गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार तेह्रथुम पावरको प्रि–अलटमेन्टको काम भइरहेको छ। ‘प्रिअलटमेन्टको काम आज सकिन्छ’, क्यापिटलका एक अधिकारीले भने, ‘आईपीओ बाँडफाँड यही साताभित्रै गर्ने योजना छ’, उनले भने, ‘आउँदो बिहीबार वा शुक्रबार बाँडफाँड हुने सम्भावना धेरै छ।’

तेह्रथुप पावरको रु. ८ करोडको आईपीओ गत भदौ ९ गतेबाट भदौ १५ गतेसम्म बिक्री गरिएको थियो। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

अन्तिम दिन साँझ ५ बजेसम्म तेह्रथुम पावरको आईपीओमा २३ लाख ५७ हजार ९ आवेदकबाट ३ करोड १२ लाख ५४ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको थियो। जुन मागभन्दा ४२ गुणाले बढी हो। 

यस हिसाबले यो आईपीओमा झन्डै २३ लाख आवेदकको हात खालि हुने भएको छ। गोलाप्रथाबाट ७४ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर पाउने भएका छन्।

कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ। यो कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुंगा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ।