काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सहकारी संस्थाहरुलाई तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न निर्देशन दिएको छ। 

कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी सहकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न पनि विभागले निर्देशन दिएको छ।  विगभाले परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न पनि सहकारीहरुलाई निर्देशन दिएको छ। 

‘कोभिड–१९ को महामारी तथा ठूला राष्ट्रहरुबीच भएको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीबाट वस्तु र सेवाहरुको मूल्यवृद्धि र मुद्रास्फीतिले वित्तीय क्षेत्रहरुमा तरलताको अभाव सिर्जना भएको सर्वविदितै छ’, सूचनामा भनिएको छ, ‘यसै सन्दर्भमा सहकारी क्षेत्रमा समेत गम्भीर असर परेको जानकारी हामीले कार्यालयमा दिनहुँ पर्न आएका लिखित र मौखिक उजुरीको चापबाट महसुस गरेका छौँ। यस्तो संवेदनशील समयमा सहकारी संघसंस्थाहरुले आफ्नो काम कारबाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्नहुन यो निर्देशनका साथ अनुरोध गरेका छौँ।’

यस्ता छन् सहकारी संस्थाहरुलाई निर्देशन

  • सहकारी संस्थाहरुले यथाशीघ्र सबै सेयर सदस्यहरुलाई उपस्थित गराई साधारणसभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउने। विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले सेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउने।
  • तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्ने।
  • वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्ने।
  • परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्ने।
  • सेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्ने।
  • सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरुलाई मात्र संस्थाको जिम्मेवारी दिने।
  • कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने।
  • कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेस गर्ने।
  • ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने।
  • जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्ने।
  • राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्ने।
  • आफ्ना सेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्ने।

यस्ता छन् सदस्य तथा बचतकर्तालाई अनुरोध

सहकारी संस्थाहरु बैंक होइनन्। यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन्। सहकारी सुशासनका लागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ।

  • सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुने, संस्थाको कारोवारका बारेमा नियमित रूपले जानकारी लिने।
  • नियमित साधारण सभा नगर्ने सहकारीहरुका बारेमा विभागमा जानकारी गराउने। 
  •  सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमानदारिताका बारेमा नियमित जानकारी लिने।
  • बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्ने।
  • सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्थाबारे जानकारी लिने। कार्य क्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोबार नगर्ने।
  • सञ्चालक समितिका पदाधिकारीहरुको परिचान गरेर मात्र संस्थासँग कारोबार गर्ने, नियमित संवाद र सम्पर्क राख्ने।
  • आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजात सहित निक्षेप निस्सा लिने।
  • ऋण लिंदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेरमात्र ऋण लिने र समयमा नै तिर्ने।