तौल घटाउने हतारोमा मानिसहरु आफ्नो स्वास्थ्यलाई असर गर्ने गरी धेरै कुरा गल्ती गर्छन् । त्यसैले तौल घटाउने कुरा पनि विशेषज्ञको रेखदेखमा हुनु जरुरी छ । तौल घटाउँदा आफ्नो जीवनशैली र खानपानमा पनि ध्यान दिनु पर्छ । तौल घटाउने क्रममा गरिने गल्ती हुन नदिन विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ । त्यसैले थाहा पाउनुस्, यस्ता गल्ती कहिल्यै नगर्नुस् :

१. मानिसहरु खाना खान छाडेर डाइटिङ गरेपछि तौल घट्छ भनी ठान्छन् । यदि यस्तो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । डाइटिङ गर्नु निकै हानिकारक हुन सक्छ । लामो समयको अन्तरालमा मानिसहरु धेरै खान्छन् । यसले फाइदा गर्नुको साटो हानीमात्र गर्न सक्छ ।

२. मानिसहरु चाँडै तौल घटाउने चक्करमा सप्लीमेन्ट्स लिन थाल्छन् । यो पनि हानिकारक हुन सक्छ । यस्ता सप्लीमेन्ट्सले भोक पनि नलाग्ने हुन सक्छ । सजिलै तौल घटेपनि यस्ता सप्लीमेन्ट्सबाट शरीरमा साइडइफेक्ट्स हुन सक्छ ।

३. तौल घटाउन बिहान नास्ता या रातीको खाना नै छाडिने पनि गर्नुहुँदैंन । किनकि, नास्ता दिनभरका लागि निकै आवश्यक हुन्छ । यसैले तौल घटाउने नाममा खाना नै खान छाड्नु हुँदैंन । बरु स्वस्थकर खाना खान सकिन्छ या खानामा क्यालोरीको मात्रा कम गर्न सकिन्छ ।

४. तौल कम गर्ने क्रममा शरीरको बढी बोसो भएको भागलाई केन्द्रित गर्दै बढी एक्सरसाइज गर्ने चलन छ । यो पनि स्वास्थ्यका लागि ठीक होइन ।

५. ठोस खाना छाडेर तरल पदार्थ खासगरी कागती पानी, कागती पानीमा मह मिसाएर खाने गरिन्छ । यस्तो गर्दा केही समयका लागि तौल घटेजस्तो देखिएपनि पछि ठोस पदार्थ खान सुरु गर्दा एक्कासी फेरि पहिलेभन्दा तौल बढी हुने सम्भावना हुन्छ ।

६. तौल घटाउन गरिने शल्यक्रिया लिपोसक्सन गर्ने पनि चलन छ । तत्कालका लागि फाइदाजनक देखिएपनि यसका पनि धेरै साइडइफेक्ट्स हुन सक्छन् ।

त्यसैले ध्यानदिनुहोस्, तौल घटाउन कुनै त्यस्तो उपाय नअपनाउनुहोस्, जसबाट तपाईंको हुँदाखाँदाको शरीरका नोक्सानी पुगोस् । बरु, सन्तुलित खाना खानुहोस्, तरल पदार्थको सेवन गर्नुहोस् ।

-स्वास्थ्यखबर