काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने भएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको कामका लागि आउँदा भदौ १५ गतेदेखि दैनिक ७ घन्टा बन्द हुने भएको हो । विमानस्थलका अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म स्तरोन्नतिको काम हुनेछ । जसका लागि राति साढे ११ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थलमा उडान र अवतरण बन्द गरिनेछ । तर पहिलेजस्तो हवाई सेवा प्रभावित नहुने बताइएको छ ।

विमानस्थल कार्यालयका अनुसार चिनियाँ कम्पनीले दोस्रो चरणको स्तरोन्नतिको कामअन्तर्गत प्यारालल ट्याक्सी वे निर्माण गर्नेछ । कम्पनीले ८ महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको छ ।

यसअघि पहिलो चरणमा धावनमार्गमा नयाँ कालोपत्रे गर्ने काम पूरा भएको थियो । जसका लागि गत चैत १८ गतेदेखि असार १५ गतेसम्म विमानस्थलमा दैनिक १० घन्टा उडान र अवतरण बन्द गरिएको थियो।

विमानस्थल गत असार १६ गतेबाट दैनिक २१ घन्टा सञ्चालनमा आएको थियो । हाल विमानस्थल बिहान ३ बजेदेखि ६ बजेसम्म दैनिक ३ घन्टा बन्दै हुँदै आएको छ ।

हाल विमानस्थलबाट आन्तरिक तथा बाह्य गरेर दैनिक ४ सय उडान तथा अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।