काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि चार महिनाका लागि दैनिक सात घन्टा बन्द हुने भएको छ ।

यसअघि नियमित ३ घन्टा बन्द हुँदै आएको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको काम अगाडि बढाउन दैनिक सात घन्टा बन्द हुने भएको हो । विमानस्थल अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल बन्द गरी स्तरोन्नतिको काम गरिनेछ । यो सात घन्टाको अवधिमा विमानस्थलमा विमान अवतरण र उडान हुने छैन ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार दोस्रो चरणको स्तरोन्नतिको कामअन्तर्गत प्यारालल ट्याक्सी वेको काम हुनेछ । उनले चिनियाँ कम्पनीले ८ महिनाभित्र ट्याक्सी वेको काम पूरा गर्ने लक्ष्य राखेको सुनाए ।

हाल विमानस्थलमा दैनिक आन्तरिक तथा बाह्य गरी दैनिक चार सय विमान उडान तथा अवतरण हुँदै आएको थियो । यद्यपि स्तरोन्नतिको कामका कारण विगतमा जस्तो उडान तथा अवतरण प्रभावित नहुने दाबी विमानस्थल प्रशासनले गरेको छ ।

यसअघि पहिलो चरणको स्तरोन्नतिको कामअन्तर्गत विमानस्थलको धावनमार्ग नयाँ कालोपत्रे गर्ने काम सम्पन्न भएको थियो । त्यसका लागि गत चैत १८ गतेदेखि असार १५ गतेसम्म विमानस्थल १० घन्टा बन्द गरिएको थियो ।

धावनमार्ग स्तरोन्नतिसँगै अब चौबीसै घन्टा विमानस्थल सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।