काठमाण्डौ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोका कारण अवरुद्ध बन्न पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान र अवतरण सुरु भएको छ। 

हुस्सु र कुहिरोका कारण कम भिजिबिलिटी हुँदा ठप्प बन्न पुगेको हवाई उडान र अवतरण केहीबेरअघिदेखि सुरु भएको हो। 

विमानस्थल कार्यालयका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। कतारको दोहाबाट काठमाण्डौ आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको छ।

यसअघि कम भिजिबिलिटीका कारण अवतरण गर्न नसकेका चारवटा जहाजमध्ये तीनवटालाई ढाका र एउटालाई कोलकातामा डाइभर्ट गरिएको थियो। 

आन्तरिक उडान पनि खुलाउने तयारी भइरहेको छ।