काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५११ जनामा र ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षण गर्दा ९१० जनामा कोरोना पुष्टि भएको हो। योसँगै हालसम्म देशभर ६ लाख ५६ हजार ८९१ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा थप ४९७ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका ३४६ जना, ललितपुरका ९४ जना र भक्तपुरका ५७ जना छन्। 

यो अवधिमा थप ३ हजार ५५८ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ। 

हाल देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन्। तीमध्ये ४७ हजार २८६ होम आइसोलेसनमा र ३ हजार २३४ जना संस्थागत आइसोलेसनमा छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ५२ जनाको मृत्यु भएको छ। यसैगरी यसअघि छुटेका थप २९ जना मृतक डाटा पनि थप भएको मन्त्रालयले जनाएको छ। यीसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ८९४ पुगेको छ।