काठमाण्डौ । देशभर थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८१ जनामा र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमित संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा ५४५ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका ४५५ जना, ललितपुरका ७४ र भक्तपुरका १६ जना छन्। 

पछिल्लो २४ घन्टामा निको भएर थप ४ हजार १८७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमित दर १०.३३ प्रतिशत रहेको छ।

बितेको २४ घन्टा थप ४१ जनाको निधन भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। 

देशभर हालसम्म २४ लाख ३८ हजार १२७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइसकेको मन्त्रालयले जनाएको छ। दुवै डोज लगाउनेको संख्या भने ६ लाख ९१ हजार ४९४ पुगेको छ।