काठमाण्डौ । बितेको एक दशकको अवधिमा नेपालमा थप ४० लाख मानिसले रोजगारी पाएका छन्। 

विश्व बैंकले हालैमात्र सार्वजनिक गरेको ‘नेपाल जब डाइग्नोस्टिक’ प्रतिवेदनअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा थप ४० लाखजनाले रोजगारी पाएका हुन्। अधिकांश रोजगारी ज्यालादारीमा सीमित रहेको उल्लेख रहेको प्रतिवेदनले ती कामदारहरुको क्षमताको सदुपयोग हुन सकेको स्पष्ट पारेको छ। 

प्रतिवेदनअनुसार बितेको एक दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको छ। कृषिमा आधारित अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको छ। ‘यसले श्रमशक्तिलाई राम्रो अवसर सिर्जना गरेको छ’, प्रतिवेदनमा उल्लेख छ। 

यस अवधिमा निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापारजस्ता क्षेत्रमात्र नभई विदेशमा पनि पुरुष कामदारले नै अवसर बढी पाएका छन्। यद्यपि महिलाहरूले पनि पछिल्लो समय रोजगारीमा हिस्सा बढाउँदै लिएका छन्। सन् २००८ मा कुल १७ प्रतिशत हिस्सा रहेकोमा सन् २०१८ मा बढेर २४ प्रतिशत पुगेको छ।

श्रमशक्ति सर्वेक्षण र अन्य नेपालका आर्थिक सर्वेक्षणहरूका अनुसार नेपालको श्रम बजारको प्रतिफल विस्तारित भएको छ। विभिन्न कठिनाइका बाबजुद रोजगारीका क्षेत्रमा राम्रो प्रगति भएको प्रतिवेदको निष्कर्ष छ। विश्व बैंकले भनेको छ, ‘कोभिड १९ को रिकभरी अवधिमा यस्तो गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जानेछ।’