काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न बिहीबार आदेश दिएको छ।

अदालतमा मंगलबार अग्रवालविरुद्ध कालोबाजारी मुद्दामा परेको थियो। सोही मुद्दामा बिहीबार थुनछेक आदेश गर्दै अग्रवाललाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो। 

काठमाण्डौ जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार धरौटी दिए पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने अदालतको आदेश छ। ‘अग्रवालले धरौटी बुझाउँछु भनेका छन्, बुझाए आजै उनी छुट्ने छन्’, उनले भने। 

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक अग्रवाल गत चैत २५ गते थर्मल गन कालोबजारी गरेको आरोपमा काठमाण्डौको ठमेलबाट पक्राउ परेका थिए। उनीमाथि ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म बेचेको आरोप लागेको छ। 

अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्। अग्रवालले प्रयोग गर्दै आएको कूटनीतिक नियोगको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अग्रवालले सोही गाडीको प्रयोग गरी थर्मल गनको कालोबजारी गरेको प्रहरीले जनाएको छ। सोही गाडीबाट प्रहरीले ६६ थान थर्मल गन बरामद पनि भएको थियो।

कालोबजारी मुद्दामा सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवाना माग गर्दै मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो।