काठमाण्डौ। दक्षिण अफ्रिकामा कोरोना संक्रमण तीव्र फैलिन थालेको छ।

दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरुका अनुसार दैनिकजसो कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेको हो। नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार केही दिनअघि दैनिक औसत ३०० नयाँ संक्रमित फेला पर्थे तर अहिले ३ हजार ५०० नयाँ संक्रमित फेला थालेका छन्।

दक्षिण अफ्रिकामा केही दिनयता तीव्रगतिमा संक्रमण फैलिनुमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई मुख्य कारण मानिएको छ। यद्यपि नयाँ भेरिएन्टबाट हालसम्म कतिजना संक्रमित भइसकेकोबारे स्थानीय अधिकारीहरुले तथ्यांक सार्वजनिक गरेका छैनन्।

दक्षिण अफ्रिाकामा गत नोभेम्बर ९ मा लिइएको नमुनाहरुमा ओमिक्रोन भेरिएन्ट देखिएको थियो। विश्व स्वास्थ्य संगठनलाई भने यसबारेमा गत नोभेम्बर २४ मात्र जानकारी प्राप्त भएको थियो।

त्यसपछि नयाँ भेरिएन्टलाई लिएर विश्वका अधिकांश देश सतर्कता अपनाउन थालेका छन्। 

नयाँ भेरियन्टलाई थुप्रै प्रश्नहरु उब्जिरहेका छन् तर हालसम्म यसको फैलिन सक्ने क्षमता र उपलब्ध खोपहरुको यसविरुद्धको प्रभावकारिताका विषयमा यकिन भइसकेको छैन। – एजेन्सी