काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली दशैंअघि नआउने भएको छ । 

मोक टेस्टिङमा भएको ढिलाई, नेप्सेलाई ब्रोकरहरुले गरेका असहयोग, सरकारले नेप्से प्रमुख चन्द्रसिंह साउदको नियुक्ति बदर गरेपछि उत्पन्न परिस्थिति, नेप्सेभित्रै भएको केही गडबडी र सिस्टमको खराबी लगायतका कारणले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली दशैंअघि नआउने निश्चित भएको हो । 

सोमबार अनलाइन कारोबार प्रणालीको मोक टेस्टिङ सुरु भएको बिषयमा जानकारी दिन नेप्सेले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख चन्द्रसिंह साउदले प्रष्ट रुपमा दशैंअघि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयन नआउने बताए । ‘सुरु भएको मोक टेस्टिङमा लगानीकर्ताले कम्तीमा ८ हप्तासम्म सिक्ने छन् र आफूलाई अभ्यस्त बनाउने छन् ।’ साउदले भने–‘त्यसपछि मात्र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आउनेछ ।’ 

साउदले प्रष्ट रुपमा २ महिनासम्म मोक टेस्टिङ गर्न समय लाग्ने बताउनुले अब अनलाइन कारोबार प्रणाली छिटो भयो भने पनि मंसिर पहिलो सातामा मात्र कार्यान्वयनमा आउनेछ । मोक टेस्टिङमा केही ढिला भएको खण्डमा यो मिति समेत अझै पछि धकेलिनेछ । 

चन्द्रसिंह साउदले प्राविधिक कुरा भएकोले केही समय ढिला हुँदैमा जहाज नै नडूब्ने प्रष्ट पारे । बिजशालासँग कुरा गर्दै उनले लगानीकर्ताहरु अभ्यस्त नभएसम्म अनलाइन प्रणालीलाई कार्यान्वयनमा ल्याउँदा समस्या हुने भएकोले मोक टेस्टिङले उनीहरुलाई सिकाउने काम गर्नेछ । लगानीकर्ता, ब्रोकर र अन्य सम्बद्ध पक्षले समेत मोकमै कारोबार गर्न सिक्ने र त्यसपछि पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा ल्याउँदा केही सहज हुनसक्ने नेप्सेको विश्लेषण छ । 

‘हामीले कम्तीमा २ महिना समय मोक परीक्षणका लागि भनेका छौ ।’ साउदले भने–‘प्राविधिक कुरा हो, केही दिन ढिलो पनि हुनसक्छ र छिटो पनि हुनसक्छ ।’

दशैं र तिहारको बीचमा केही दिनसम्म बजार बन्द हुने र लगानीकर्ताको धेरै चहलपहल नहुने भएकोले समेत तिहारपछि मात्र अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउँदा खासै फरक नपर्ने नेप्सेका अधिकारीहरुको पछिल्लो विश्लेषण छ ।  

साउदको २ महिना !
नेप्से प्रमुखमा नियुक्त भएर आएपछि अनलाइन कारोबार प्रणालीको चर्चा चलेसँगै चन्द्रसिंह साउदले ‘२ महिने समयसीमा’लाई नछाड्नुलाई एउटा संयोग नै मान्नपर्ला ।

बिजशालाले असारमा उनीसँग कुरा गर्दा २ महिनाभित्रमा अनलाइन कारोबार प्रणालीको सुरुवात हुने बताएका थिए । तर, त्यसको एक महिनामै त्यसमा संशय पैदा भयो । फेरि हामीले साउन पहिलो साता उनलाई सोधेका थियौं–अनलाइन प्रणाली कहिलेदेखि पूर्ण कार्यान्वयनमा आउँछ ? उनले उत्तर दिए–अबको २ महिनाभित्र । तर, भदौ दोश्रो सातासम्म पनि अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आउने छाँट देखिएन । भदौ तेश्रो साता हामीले फेरि उनलाई सोध्यौं–अनलाइन कारोबार प्रणाली आउन त ढिला भयो नि ? उनले फेरि पनि भने–अबको २ महिनाभित्र । पटक–पटक २ महिनाको समयसीमा तोकेका साउदले असोज १ गते आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा फेरि भनेका छन्–अबको २ महिनापछि अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन सुरु हुनेछ । 

लगानीकर्ताको हित हेर्ने हो भने भन्नैपर्ने हुन्छ–पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण कार्यान्वयनको सन्दर्भमा साउद वा नेप्सेका कुनै पनि अधिकारीहरुबाट २ महिनाको रटान सुन्ने दिन फेरि नआओस् । 

नेप्सेका केही अधिकारीले यसअघि दशैंको उपहारको रुपमा लगानीकर्तालाई अनलाइन कारोबार प्रणाली दिने घोषणा समेत गरेका थिए। तर, आतुरताका साथ दशैं उपहार ग्रहण गर्न बसेका लगानीकर्ता सोमबार(असोज १ गते)को नेप्सेको पत्रकार सम्मेलनबाट हिस्स बनेका छन् ।