काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नवील बैंकले सबैभन्दा बढी खूद नाफा आर्जन गरेको छ । कोरोना कहरको अप्ठ्यारो अवस्थामा पनि नवीलले आफ्नो नम्वर वानको पोजिसनलाई कायमै राखेको देखिएको छ।

नवीलले यो वर्षको सुरुवातदेखि नै नाफामा सबैलाई उछिन्दै आएको छ । यो क्रमलाई १० महिनासम्मको अवधिसम्म पनि कायमै राखेको देखिएको हो । 

विगतमा वर्षहरुमा वाणिज्य बैंकहरुमध्येकै आकर्षक लाभांश वितरणको इतिहास बनाएको नवीलले बाँकी २ महिनामा औसत नै विजिनेश गर्दा समेत यो वर्ष पनि सबैभन्दा बढी लाभांश बाँड्ने क्षमता बनाउनसक्ने देखिन्छ । यहीकारण समेत नवील बैंकको सेयरप्रति दोश्रो बजारमा लगातार आकर्षण देखिँदै आएको छ । उच्च नाफालाई कायम राख्नु र लाभांश पनि अरुभन्दा बढी वितरण गर्ने भएकाले यो बैंकको दोश्रो बजार मूल्य प्रतिकत्ता रु. १३०० माथि छ । 

नेपाल राष्ट्रबैंकले उपलब्ध गराएको तथ्याङ्कअनुसार नवील बैंकले चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्तसम्मको अवधिमा ४ अर्ब ५ करोड बढी खूद नाफा आर्जन गरेको छ । वाणिज्य बैंकमध्ये नवीलको १० महिनाको नाफा सबैभन्दा बढी हो । 

खूद नाफा आर्जनको हिसाबले १० महिनाको अवधिमा ग्लोबल आइएमई बैंक दोश्रो स्थानमा छ । यो बैंकले ३ अर्ब ९१ करोड ७६ लाख खूद नाफा आर्जन गरेको छ । 

यस्तै, ३ अर्ब ३६ करोड नाफा आर्जन गर्दै एनआइसी एशिया बैंक यो सूचीको तेश्रो स्थानमा छ । 

राष्ट्रिय वाणिज्य बैंक यो अवधिमा ३ अर्ब २७ करोड खूद नाफा आर्जन गरी चौथो स्थानमा पुगेको छ । 

बैशाख मसान्तसम्म ३ अर्ब १७ करोड खूद नाफा आर्जन गरेर नेपाल इन्भेष्टमेन्ट बैंक पाँचौ स्थानमा छ भने ३ अर्ब १२ करोड खूद नाफासँगै प्राइम बैंक छैठौं स्थानमा छ । 

यसरी हेर्दा बैशाख मसान्तसम्म ६ वटा वाणिज्य बैंकहरुको मात्र खूद नाफा ३ अर्बभन्दा माथि छ । 

राष्ट्रबैंकका अनुसार ७ वटा बैंकको बैशाखसम्मको खूद नाफा २ अर्ब माथि छ । एनएमबी बैंक २ अर्ब ७९ करोड नाफासहित सातौं स्थानमा रहेको छ भने नेपाल बैंक २ अर्ब ३९ करोड ५० लाखसहित आठौं स्थानमा, कृषि विकास बैंक २ अर्ब ३९ करोड २० लाख नाफासहित नवौं स्थानमा, सिद्धार्थ बैंक २ अर्ब ३४ करोडसहित दशौं स्थानमा, प्रभू बैंक २ अर्ब २९ करोडसहित एघारौंं स्थानमा, मेगा २ अर्ब २२ करोडसहित बाह्रौं स्थानमा छन् । सानिमा बैंक २ अर्ब ४ करोड खूद नाफा आर्जन गर्दै यो अवधिमा तेह्रौं स्थानमा रहेको छ । 

बैशाख मसान्तसम्म ११ वटा वाणिज्य बैंकको नाफा एक अर्बभन्दा बढी देखिएको छ । जसअनुसार कुमारी बैंकको १ अर्ब ९५ करोड, नेपाल बंगलादेश बैंकको १ अर्ब ८३ करोड, एभरेष्ट बैंकको १ अर्ब ७२ करोड, सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब ६१ करोड, माछापुच्छ्रेको १ अर्ब ४५ करोड, हिमालयन बैंकको १ अर्ब ४० करोड, लक्ष्मी बैंकको १ अर्ब ३८ करोड, स्ट्याण्डर्ड चार्टर्डको १ अर्ब ३५ करोड, सनराइज बैंकको १ अर्ब २८ करोड, एनसीसीको १ अर्ब २४ करोड, बैंक अफ काठमाण्डू लिमीटेडको १ अर्ब १६ करोड रहेको छ । 

यो अवधिमा नेपाल एसबीआई बैंकले ९९ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ भने सिभिल बैंकले ५३ करोड ३६ लाख र सेञ्चुरी कमर्सियल बैंकले ४३ करोड ७० लाख मात्रै खूद नाफा आर्जन गरेको छ । 

यसरी हेर्दा नवील बैंकले सबैभन्दा बढी नाफा कमाउँदा सबैभन्दा कम नाफा चाहिँ सेञ्चुरी बैंकले आर्जन गरेको छ । एसबीआई, सिभिल र सेञ्चुरीको खूद नाफा १ अर्बभन्दा कम छ । 

बैंकहरुले बैशाख मसान्तसम्म आर्जन गरेको खूद नाफा टेवलमा हेर्नुहोस्: