– रेखा चन्द

काठमाण्डौ । यो वर्षको चाडपर्वको सिजन सुरु भइसकेको छ। नेपालीको महान पर्व दसैँतिहार पनि नजिकिँदैछन्। 

चाडपर्वको सिजन सुरु भएसँगै मानिसहरुले दसैँतिहारका लागि अहिलेदेखि नै खर्चको जोहो गर्न सुुरु गरेका छन्। पोहोरको वर्षभन्दा केही छिटो परेको चाडपर्वका लागि विभिन्न क्षेत्रमा रहेका मानिसहरुले खर्चको चाँजोपाँचो मिलाउन थालेका हुन्। 

ठूला पर्व दसैँतिहारमा अन्य समयभन्दा बढी खर्च हुने गर्दछ। मानिसहरुले यो बेला खाद्यान्नका साथै नयाँ–नयाँ सामग्री जोड्ने गर्छन्। 

यहीबेला सेयर बजारमा पनि लाभांशको सिजन सुरु भएको छ। लगानीकर्ताहरु पनि यो बेला कम्पनीहरु प्राप्त हुने लाभांशको आशामा बसेका छन्। कतिपय लगानीकर्ताले यसरी कम्पनीहरुबाट आउने नगद लाभांशको रकमले चाडपर्वको बेला सपोर्ट हुने अपेक्षा राखेका हुन्छन्। 

यसपालि केही म्युचुअल फन्डहरुले लाभांश घोषणा गरिसकेका छन्। यद्यपि बैंक तथा वित्तीय संस्थासँगै अन्य सेक्टरका कम्पनीहरुले भने लाभांश घोषणा गर्न बाँकी नै छ। 

पोहोर दसैँअघि नै केही बैंकहरुले लाभांश प्रस्ताव गरेका थिए। यो हिसाबले यसपालि पनि केही बैंहरुले दसैँअघि नै लाभांश प्रस्ताव गर्न सक्ने देखिन्छ। तर, लाभांश पारित गर्ने प्रक्रिया लामो हुने गर्छ। त्यसैले दसैँअघि घोषणा हुने लाभांश भने लगानीकर्ताहरुले चाडपर्वको सिजन सकिएपछि मात्रै पाउने सम्भावना देखिन्छ। 

नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष एवं कृषि विकास बैंकका सीईओ अनिलकुुमार उपाध्याय पहिलो त्रैमास अर्थात असोजभित्रै केही वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्न सक्ने बताउँछन्। ‘अहिलेसम्मको ट्रेन्ड हेर्दा केही बैंकले दसैँअघि नै लाभांश प्रस्ताव गरिरहेकै छन्, कतिपयले दोस्रो त्रैमाससम्म प्रस्ताव गर्न सक्छन्’, उनले भने ‘जसको सबै प्रक्रिया सकिएको हुन्छ, त्यसले प्रस्ताव गर्छ।’

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल दसैँअघि विकास बैंकहरुले लाभांश प्रस्ताव गर्ने सम्भावना कम रहेको बताउँछन्। ‘मेरो विचारमा प्रक्रिया पुुर्याएर केहीले दसैँअघि लाभांश प्रस्ताव गर्लान् तर अधिकांशले प्रतिफल प्रस्ताव गर्ने सम्भावना छैन’, उनले भने। 

नेपाल वित्तीय संस्था संघका अध्यक्ष एवं गुुडविल फाइनान्सका सीईओ सरोजकाजी तुुलाधर मंसिर महिनाअघि फाइनान्स कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने सम्भावना नरहेको बताउँछन्। ‘दसैँतिहार लगभग नजिकिइसक्यो। यो अवधिमा फाइनान्सले लाभांश प्रस्ताव गर्ने सम्भावना एकदमै कम छ’, उनले भने, ‘त्यसैले फाइनान्स कम्पनीहरुले मंसिरदेखि मात्रै लाभांश घोषणा गर्लान्।’

यता नेपाल लघुुवित्त बैंकर्स संघका अध्यक्ष एवं लक्ष्मी लघुुवित्तका सीईओ प्रकाशराज शर्मा दसैँअघि केही लघुवित्तले लाभांश प्रस्ताव गर्ने सम्भावना रहेको बताउँछन्। ‘दसैँ आउन अझै एक महिनाभन्दा धेरै समय छ’, उनले भने, ‘योबीचमा केही संस्थाले लाभांश प्रस्ताव गर्ने सम्भावना छ। तर सबै लघुुवित्तहरुले भने गर्दैनन्।’