– रेखा चन्द

काठमाण्डौ । दसैँका लागि नयाँ नोट भदौको तेस्रो साताबाट साट्न पाइने भएको छ। 

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी भदौ तेस्रो साताबाट नयाँ नोट साट्ने व्यवस्था गर्न अहिले तयारी गरिरहेको हो। ‘राष्ट्र बैंकले दसैँलाई लक्षित गरी नयाँ नोट साट्ने प्रबन्ध मिलाउन अहिले तयारी गरिरहेको छ’, मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालले भने, ‘नयाँ नोटहरु भदौ २० गतेसम्म राष्ट्र बैंकमा आउँछ, त्यसपछि सम्बन्धित विभागबाट स्वीकृति लिएर १–२ दिनभित्रै राष्ट्र बैंकका सबै कार्यालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने व्यवस्था गरिन्छ।’

दाहालका अनुसार यसपालि नयाँ नोटहरु नै साट्ने व्यवस्था गरिनेछ। ‘मागअनुसार नयाँ नोटहरु राष्ट्र बैंकले बजारमा पठाउनेछ’, उनले भने, ‘अहिले यति नै माग छ भन्ने छैन। त्यसैले कति चाहिने हो, त्यति नै बजारमा पठाउँछौँ।’

यसपालि पनि ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था मिलाइने दाहालले बताए। ‘प्रतिव्यक्ति कुल १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने व्यवस्था गरिनेछ’, उनले भने। 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले चाडपर्वमा नगदभन्दा पनि डिजिटल कारोबारलाई जोड दिनुपर्ने बताउँछन्। ‘चाडपर्वमा दक्षिणा दिँदा पनि अब डिजिटल ट्रान्सफरलाई प्राथमिकता दिनु उचित हुन्छजस्तो लाग्छ’, उनले भने, ‘नगद (नोट) दिने प्रचलनलाई निरुत्साहित गर्दै लैजानुपर्छ।’

कोभिड महामारी अगाडि र पछाडिको परिस्थितिलाई हेर्दा डिजिटल ट्रान्ज्याक्सन भोलुम ५० प्रतिशत बढेको र ट्रान्ज्याक्सन अमाउन्ट डबलभन्दा बढीले बढेको पोखरेलको भनाइ छ। ‘त्यसैले कोभिडका कारण नोट दिने प्रचलन घटेको छ, डिजिटल कारोबार बढेको छ’, उनले भने, ‘नोटले रोव्याधको सम्भावना पनि बढी हुने भएकोले चाडपर्वमा दिइने दक्षिणा पनि डिजिटल ट्रान्सफर गर्दा उपयुक्त हुने देखिन्छ।’