काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाडपर्वलक्षित नयाँ नोट कहिले र कहाँ-कहाँबाट वितरण गर्ने विषयमा छलफलको कार्यलाई तीव्रता दिएको छ। 

सम्भव भएसम्म भदौ २९ गतेबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। ‘हामी छलफलकै क्रममा छौँ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं मुुद्रा विभागका प्रमुुख रेवती नेपाल भन्छन्, ‘सम्भव भएसम्म भदौ २९ गतेबाट सर्वसाधारणलाई दसैँका लागि नयाँ नोट वितरण गरिनेछ।’

बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गतेबाटै नयाँ नोट दिने कि भन्ने विषयमा छलफल भइरहेको नेपाल बताउँछन्। ‘सर्वसाधारणलाई सम्भव भएसम्म २९ गतेबाट बाँड्ने भन्नेमा हामी पुुगेका छौं तर बैंक तथा वित्तीय संस्थाहरुलाई बेलैमा नयाँ नोट दिन सकेनौँ भने चाहिँ सर्वसाधारणका लागि असोज २ गतेबाट नयाँ नोट वितरणकार्य सुरु हुनेछ।’

राष्ट्र बैंकले हरेक वर्षको चाडपर्वमा नयाँ नोट वितरण गर्दै आएको छ। राष्ट्र बैंकका अनुुसार ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट प्रतिव्यक्तिलाई १८ हजार ५०० रुपैयाँ दिइनेछ।